साप्ताहिक संवाददाता
नेपाली फुटबलमा बालगोपाल महर्जन निकै भाग्यमानी मानिन्छन्, त्यसैले त उनले समय समयमा ठूलै अवसरहरू पाइरहेका हुन्छन् । यो स्वभाविक पनि हो, किनभने उनले पाएको अवसरमा आफूलाई प्रमाणितसमेत गर्दै आएका छन् । भदौ १९ गतेदेखि बंगलादेशमा साफ च्याम्पियनसिप सुरु हुँदैछ र नेपाल यिनै बालगोपालको नेतृत्वमा मैदानमा उत्रँदैछ । प्रतियोगिताको मुखैमा उनी नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
‘मेरा सामु फेरि एकपटक ठूलो अवसर आएको छ र मलाई पूरा विश्वास छ, म यसमा खरो उत्रनेछु,’ नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी तथा कप्तान महर्जनको विश्वास छ । सबैभन्दा पहिले उनी कुन स्थितिमा यहाँसम्म आइपुगे, त्यसको पृष्ठभूमि हेरौं । यो धेरै हदसम्म खराब पनि सुनिन्छ, तर कसैका लागि यो राम्रो अवसर समेत हुनसक्छ । बालगोपालको अहिलेको घटनाक्रममा यो सही सावित हुन्छ । नेपाली फुटबल टिमले केही दिनअघि मात्र एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।
एसियाली खेलकुदमा सहभागी टिम यू–२३ भए पनि लगभग राष्ट्रिय टिम जस्तै थियो । त्यति बेला प्रशिक्षक थिए, जापानी ग्योतुकी कोजी । साफ च्याम्पियनसिप पनि उनकै नेतृत्वमा खेल्ने तय थियो । उनको दाबी पनि बाहिर आइसकेको थियो, नेपालले प्रतियोगिता जित्नका लागि खेल्नेछ, तर जाकार्तामा नेपाली टिमको चुनौती सकिएपछिका घटना नाटकीय जस्तै रहे, जुन अपेक्षित पनि थियो । खासमा कोजु पछिल्लो पटक जति समय नेपाल बसे, त्यो कानुनी दृष्टिकोणले गलत थियो, अर्थात् गैरकानुनी थियो ।
कोजुसँग न त नेपालमा बस्ने अवधिका लागि प्रवेशआज्ञा थियो, न त व्यवसायिक रूपमा काम गर्ने अनुमति । यस्तोमा उनले के एकपटक नेपाल छाडे, फेरि फर्केर आउन सक्ने स्थिति थिएन । नेपालले उनकै नेतृत्वमा सोलिडारिटी कप जितेको थियो । यो नेपाली फुटबलले पाएको निकै ठूलो सफलता हो, तर यही टिमका प्रशिक्षकले नमीठो बहिर्गमन पाए ।
यही बहिर्गमन भने अरू कसैका लागि अवसर बन्यो र ती भाग्यमानी रहे– बालगोपाल महर्जन । यसअघि पनि नेपाली राष्ट्रिय टिम सम्हालिसकेका बालगोपाल पछिल्लो समय भने राष्ट्रिय टिमका सहायक प्रशिक्षक थिए, उनी कोजीका सहयोगीका रूपमा कार्यरत थिए । कोजी के गए, अब उनी नै टिमका मुख्य जिम्मेवार भएका छन् । बालगोपालको इतिहास हेर्ने हो भने उनी त्यसका पूर्ण हकदार पनि देखिन्छन् ।
नेपाली फुटबल टिमले लामो समयसम्म उपाधिको खडेरी भोगेको थियो । नेपालले अन्तिम पटक बंगलादेशमै दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण पदक जितेको थियो, त्यो पनि सन् १९९३ मा । त्यसयता धेरै पटक प्रश्न उठे, अब नेपालले कहिले अर्को उपाधि जित्ने होला ? सन् २०१६ मा त्यसको उत्तर आयो र नेपालले बंगबन्धु गोल्डकप जित्यो । त्यसपछि त हो, नेपालले दक्षिण एसियाली खेलकुदमै फेरि स्वर्ण जितेको, अनि सोलिडारिटी कप पनि ।
नेपालले बंगबन्धु गोल्डकप जित्दा प्रशिक्षक बालगोपाल नै थिए । एक प्रकारले नेपाली फुटबलमा फेरि एकपटक खुसीका दिन फर्काउने पूरा श्रेय महर्जनलाई दिनैपर्छ । फेरि बालगोपाल र बंगलादेश, अनि नेपाली फुटबलबीच मीठा संयोगहरू पनि छन् । जति बेला नेपालले सन् १९९३ मा साफमा स्वर्ण पदक जितेको थियो, त्यति बेला प्रतियोगिता बंगलादेशमै भएको थियो, अनि बालगोपाल एक खेलाडी थिए । बंगबन्धु गोल्डकप बंगलादेशको आफ्नै विशिष्ट प्रतियोगिता हो ।
बालगोपालले व्यवसायिक खेलाडी र प्रशिक्षक दुवै भूमिकामा बंगलादेशमा राम्रै समय बिताइसकेका छन् । बंगलादेशमा उनी निकै परिचित नाम हुन् । यस्तोमा नेपाली फुटबल, सफलता र बालगोपालबीच केही न केही संयोग देखिन्छ र यो खुसीकै संयोग रहँदै आएको छ । त्यसैले यसपटकको साफ च्याम्पिनसिपमा पनि हामीले राम्रा नतिजाको अपेक्षा गर्न सक्छौं कि ? बालगोपालकै शब्दमा— नेपालले आसन्न प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने साँच्चै राम्रो अवसर छ ।
दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनको इतिहास त्यति राम्रो छैन । एकाध अवसर छाडेर प्रत्येक पटक साफ च्याम्पियनसिपमा नेपालको अनुभव तितो नै छ । यसपटक के हुने हो त ? नेपाली टिममा प्रमुख प्रशिक्षक बालगोपाल महर्जन नयाँ जिम्मेवारी पाएयता खुसी छन् र त्यो खुसीलाई सफलतामा बदल्न आत्मविश्वासी पनि देखिन्छन् । प्रतियोगितालाई लिएर प्रशिक्षक बालगोपाल महर्जनसँग साप्ताहिकको पाँच प्रश्न :
साफ च्याम्पियनसिपमा नेपालको उपस्थिति कस्तो रहनेछ ?
नेपाल उपाधिको दावेदार हो । हाम्रो एक मात्र लक्ष्य उपाधि जित्नु नै हो । हामी उपाधि जित्ने उद्देश्यले नै मैदानमा उत्रने छौं । पछिल्ला दुई/तीन वर्षको नेपालको प्रदर्शनलाई आधार मान्ने हो भने हामीलाई उपाधिको दावेदार मान्नै पर्छ । हामीलाई कुनै पनि प्रतिद्वन्द्वीले सजिलो मान्न सक्ने स्थिति छैन ।
यसका आधार के हुन ?
पछिल्ला केही वर्षमा हामीले तीनवटा ठूला उपाधि जितेका छौं, बंगबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल तथा सोलिडारिटी कप । अहिले नेपालको फुटबल टिम आफैंमा लयमा छ । पछिल्ला केही दिनयता टिममा रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्तिबीच निकै राम्रो समन्वय देखेको छुं र यो निकै सकारात्मक उपलब्धि हो । एसियाली खेलकुदमा सहभागी भएर जाकार्ताबाट फर्किएको टिममा केही वरिष्ठ खेलाडी समाहित भएपछि निकै राम्रो भएको छ । फेरि टिममा जीपीएस प्रणाली भित्रिएपछि यसले टिमको प्रदर्शनमा धेरै मद्दत पुर्याउनेछ ।
नेपालको समूहलाई कसरी विश्लेषण गरिरहनुभएको छ ?
निकै गाह्रो मान्नुपर्ने समूह छैन । हामीले समूह चरणमा पाकिस्तान, भुटान तथा बंगलादेशविरुद्ध खेल्ने हो । हामी यो समूहबाट सेमिफाइनल पुग्न कठिन हुने छैन । हामी यतिका लागि सक्षम छौं । समूह चरणमा खेल्दा हाम्रो पहिलो लक्ष्य सेमिफाइनल पुग्नु नै हुनेछ र हामी यही रणनीति अनुसार खेल्ने छौं ।
जीपीएस प्रणालीले कत्तिको सहयोग पुर्याएको छ ?
नेपाली राष्ट्रिय टिममा धेरै अघि नै जीपीएसको प्रयोग हुनुपर्ने थियो, यसपटक भएको छ । यसले टिममा नयाँ उत्साह ल्याएको छ । यो प्रविधिले टिमको प्रदर्शनमा सुधार ल्याउन अझ बढी सहयोग पुर्याउनेछ ।
त्यो कसरी सम्भव छ ?
आधुनिक फुटबलका लागि यस्तो प्रविधि आवश्यक हुन्छ । अभ्यासका बेला खेलाडीले कति दूरी दौडिएका छन्, उनीहरूले कति शक्ति खर्च गरेका छन् जस्ता धेरै तथ्य यो प्रविधिबाट प्राप्त हुन्छ । यसले एकातर्फ खेलाडीलाई अल्छि हुनबाट जोगाउँछ भने अर्कातर्फ खेलाडीको वास्तविक क्षमता पनि उजागर हुन्छ । यो निकै उपयोगी प्रविधि हो । अहिले प्रशिक्षणका क्रममा हामी यो प्रविधिको प्रयोग अधिकतम रूपमा गरिरहेका छौं ।