साप्ताहिक संवाददाता
मसला मोही बनाउन एक कचौरा दही, दुई गिलास चिसो पानी, एउटा हरियो खुर्सानी, बिरे नुन, सादा नुन, मसिनो गरी काटिएको पुदिना र धनियाँ आधा–आधा कचौरा, मरिचको धूलो तथा भुटेर पिँधेको जिराको धूलो तयारी अवस्थामा राख्ने ।
ग्राइन्डिङ मेसिनमा धनियाँको टुक्रा एक कचौरा र पुदिनाको टुक्रा आधा कचौरा, खुर्सानी र हल्का पानी हालेर ब्लेन्ड गर्ने । पेस्ट नहुने गरी तयार गरिएको उक्त घोलमा एक कचौरा दही, बिरे नुन, सादा नुन, भुटेको जिरा आधा चम्चा, आधा गिलास पानी तथा मरिचको धूलो हालेर ग्राइन्डिङ गर्ने ।
उक्त मोहीलाई डेक्ची वा बाटामा खन्याउने । यो बाक्लो हुने हुनाले पातलो बनाउन चलाउँदै दुई गिलास जति पानी थप्ने । थपेको पानीको भागलाई चाहिने जति बिरे नुन, सादा नुन, भुटेको जिराको धूलो हालेर दाल घोट्नेले घोट्ने । यो घोललाई सर्भिङ ग्लासमा खन्याएर मरिचको धूलो, भुटेको जिरोको धूलो तथा पुदिनाको पात माथिबाट छर्किएर सर्भ गर्नुपर्छ ।
तरबुजाको जुस
एक कचौरा तरबुजाको टुक्रा, कागतीको रस, पुदिना वा तुलसीको पात, चिनी तथा नुनलाई ग्राइन्डरमा हालेर ब्लेन्ड गर्ने । ब्लेन्ड गरिएको जुसलाई छानेर त्यसमा भएको बीउ निकाल्ने । उक्त जुसलाई गिलासमा हाल्ने । यदि जुस बाक्लो छ भने हल्का पानी हालेर चलाउने अनि त्यसलाई आइसक्युबका साथ सर्भ गर्ने ।