साप्ताहिक संवाददाता
दरबारमार्गस्थित क्लब डेजाभूमा सम्पन्न नेपाल मेकअप कम्पिटिसन–२०१८ मा रिना लिम्बू विजयी भएकी छिन् । नेपालभरिका मेकअप आर्टिष्टहरूले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा निर्मला फुयाँलले फस्ट रनर्सअप तथा कामिनी शाहले सेकेन्ड रनर्सअपको उपाधि जिते । जुम ब्युटी एकेडेमीले आयोजना गरेको यो प्रतियोगिताका क्रममा प्रतिस्पर्धी मेकअप आर्टिस्टहरूले क्रिएटिभ तथा ब्राइडल मेकअप गरी दुई चरणमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
क्रिएटिभ मेकअपका क्रममा प्रतिस्पर्धीहरूले हलिउड टच दिने प्रयास गरेका थिए भने ब्राइडल मेकअप गर्ने क्रममा हिन्दू दुलहीका साथै भारतीय, पाकिस्तानी, बंगाली तथा क्रिस्चियन दुलहीहरूको मेकअप शैली प्रस्तुत गरिएको थियो ।
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, मेकअप आर्टिस्ट सोफी सुनुवार, फेसन डिजाइनर तेन्जिङ छिरिङ भुटिया, फोटोग्राफर राजभाइ सुवाल आदि निर्णायक रहेको उक्त प्रतियोगितामा सहभागिता जनाउने मेकअप आर्टिस्टहरूले दुई साता लामो विशेष प्रशिक्षण लिएको बताइएको छ ।