साप्ताहिक संवाददाता
रोल्पाका अर्चितबाबु मर्सिफुल १२ वर्षका भए । अक्सर उनका उमेरका बालबालिका विभिन्न खेलहरुमा रमाईरहेका हुन्छन् । पछिल्लो समयका बालबालिकाहरु पढ्नबाट बचेको समय मोबाईल तथा ट्याबमा विभिन्न गेम खेलेर बिताउँछन् । तर, १२ वर्षे अर्चितले भने स्कुलको होमर्वक गरेर बचेको समयमा उपन्यास लेखे । उनले पहिलोपटक लेखेको उपन्यास सोमबार राजधानीमा सार्वजनिक भयो । उनको उपन्यास ‘पञ्चमणी’ सार्वजनिक गर्दै बरिष्ठ आख्यानकार युवराज नयाँघरेले नेपाली साहित्यमा अर्चितबाबु ठूलो सम्भावना बोकेर आएको बताए ।
आफ्नो पहिलो कृति विमोचित कार्यक्रमलाई सम्बोधन गर्दै अर्चितले आफूले उपन्यास लेख्दै गर्दाका अप्ठ्यारा तथा सहज क्षणहरु सुनाएका थिए । उनले साहित्यिक परिवारमा हुर्किएका कारण पनि उपन्यास लेख्न सहज भएको र साहित्यतिर तानिएको बताए । आफूले टाईप गर्न नसक्दा आफ्नो कथा पितालाई सुनाएको पनि बताएका थिए । सानै भएका कारण आफ्ना कथाहरुलाई आकार दिन भने उनलाई केहि असहज भएको थियो ।
गीत/संगीतलगायत अन्य क्षेत्रमा थुप्रै बालकलाकारहरु छन् । तर लेखनमा पनि उपन्यासनै लेख्ने भने सबैभन्दा कम उमेरका अर्चितनै हुनसक्ने कार्यक्रमका बक्ताहरुले बताएका छन् । अर्चितको उपन्यास ‘पञ्चमणी’ उपन्यास समाज नेपालले प्रकाशन गरेको हो । अर्चितको उपन्यास सार्वजनिक गर्दै कार्यक्रमका सभापति तथा उपन्यास समाज नेपालका अध्यक्ष शकंर भारतीले उनलाई प्रत्साहनका साथ साहित्यमा हौसला प्रदान गर्नु पर्ने बताए । उपन्यासको समीक्षा भने वरिष्ठ निबन्धकार युवराज नयाँघरेले गरेका थिए ।
आफूसँग अझ थुप्रै उपन्यासको ड्राफ दिमागमा भएको अर्चितले बताए । उनले छिट्टै अर्को उपन्यास पनि सार्वजनिक गर्ने बताएका छन् । अर्चित गजलकार तथा कवि दामु मर्सिफुल तथा कविता उपाध्यायका छोरा हुन् ।