शरद् प्रभाका माङ्गल्य किरणहरू
फेरि घुमेर आएछन्
पोहोरकै खुसीमा नाच्नेहरू
वर्तमान खुसीमा नाच्ने कि ?
दसैं आयो खाउँला पिउँला
पोहोर साल हामी उफ्रिएका थियौं
बालसुलभ चाञ्चल्यतामा
एक मुठी हावा चाखेर, एक भुङ्ग्रो आगो तापेर
तर, आज किन जोश मरिरहेछ ?
‘आमा च्यूला कुत्ने हो ?’
पोहोर सानेको तोतेबोली हुन्थ्यो
‘बा–बा म पनि मामा घल जान्थु है’
भुण्टीले बह पोखेकी थिई
तर, आज किन यो जडवत् शून्यता ?
दसैंको मेला लागेर द्रव्यपिशाचहरू
दसैं बेचिरहेछन् ।
‘एक झुत्रो’ बाँचेकाहरू
दसैं किनिरहेछन्
किनबेच दसैं हो वा दशा ?
सानेले करै गर्छ, भुन्टीले करै गर्छे
एक जोडा लुगा त हाल्दिन पर्यो
आत्माभिमान बेचेरै भएपनि ।
अस्ति, हो अस्ति
नाना र चाचाका कुराहरू भएका
पितृत्व त निर्वाह गर्नै पर्यो ।
‘चण्डिका नमस्तस्यै नमोनय’
‘या देवी सवभूतेषु’
मधुरा किन ?
आज, हो आज
यो बासी मौनतामा कति विषालु फुङ्काहरू
यो मौन साम्राज्यमा कति अँध्याराहरू
देखिएका छन्–भुकेका छन्
म बुझ्न सकिरहेको छैन् ।
‘ॐ ल्कीम कृष्णाय’ कुनै दम छैन मन्त्रोचारणमा
‘चामुण्डा मुण्डभासला’
कुनै अर्थ छैन लयमा आखिर किन ?
जमराले टपरीहरू भरिएलान्
यद्वा ब्रोहरूले डाइस खेलाउलान्
प्रेयसी र प्रेमीहरू भेडेटार घुम्लान्
तर किन् मेरो भाइ रुन्छ ? दसैं आयो भनेर ।
दसैं आयो ।
किन किनिँदैछन्–दसैंहरू ?
किन दसैं आउन सकेन ?
किन कालो मुनेहरू गिडिन्छन् ?
किन हर्के साहूहरू खुसी हुन्छन् ?
बबुरो तेरो बुद्धि
लोप्पा खुवाएको हिजै हो ।
यहाँ दसैं आउनुपर्छ भने
मात्र कुभिण्डाहरू गिँडिन्छन्
जमराहरू र टीकाहरू थापिन्छन्
र सद्भावहरू बाँडिन्छन्
ए हजुर दसैं आयो ।
कि दशा कसैका लागि ?