याक अट्याक माउन्टेन बाइक रेस प्रतियोगिता–२०१८ को उपाधि क्यानाडाका करी वालेसले जितेका छन् । उनले १ सय ५८ किलोमिटरको दूरी १२ घण्टा ३० मिनेट ५० सेकेन्डमा पूरा गरेका हुन् ।
प्रतियोगितामा १३ घण्टा ३१ मिनेट ४६ सकेन्डमा निर्धारित दूरी पूरा गर्दै नेपालका रोहन तामाङ द्वितीय तथा १३ घण्टा ३५ मिनेटमा निर्धारित दूरी पूरा गर्दै ओकेस बज्राचार्य तृतीय भए । यो प्रतियोगिता लमजुङको बेसीसहरबाट सुरु भै समुद्री सतहभन्दा ५ हजार ४ सय १६ मिटर उचाइको थोरङ्गला पास हँुदै म्याग्दीको तातोपानीमा पुगेर टुंगिएको थियो । प्रतियोगिताको खुल्ला महिलातर्फ अस्ट्रेलियाकी करिन हिल प्रथम भइन् भने नेपालकी लक्ष्मी मगर द्वितीय तथा हल्यान्डकी निएन्के ओस्त्रो तृतीय भए ।
४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा नेपालका हर्क लामा प्रथम, पोर्चुगलका जोस टिक्जेरिया द्वितीय तथा स्पेनका जोस मरिया ओर्देजन तृतीय भए । पुरुष ५० वर्ष उमेर समूहबाट जर्मनीका पियर कास्ताग्ने प्रथम, बेल्जियमका सर्भ भेन द्वितीय तथा बेल्जियमकै भिन्सेन्ट गौभर्निअर तृतिय भए । माउन्टेन बाइकिङ वल्र्ड वाइडद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न देशका २९ जना खेलाडी सहभागी थिए ।