साप्ताहिक संवाददाता
फर्मुला वान रेसर लुइस ह्यामिल्टनले हालै ब्राजिलमा सम्पन्न फर्मुला वान रेस ब्राजिल ग्रांपी जिते । उनी यो वर्षको फर्मुला वान रेस च्याम्पियन बन्ने क्रममा छन् । ब्राजिल ग्रांपी जितेपछि धेरैले उनलाई बधाई दिए । तीमध्ये अमेरिकी ग्लामरस गायिका निकी मिनाज पनि थिइन् । निकीले ट्विटरमा लेखिन्, ‘शुभकामना स्विटहार्ट, तिमी च्याम्पियन हौ ।’
गायिकाको उक्त बधाईसँगै अनलाइन समाचारहरू फेरि रंगिएका छन् । यसअघि ह्यामिल्टनले मिनाजलाई पिपुल च्वाइस एवार्ड जितेकोमा बधाई दिएका थिए । यो वर्षको प्रारम्भदेखि नै उनीहरूबीच अफेयर चलेको हल्ला भए पनि उनीहरू एक–अर्काको साथी मात्र भएको बताउँथे । यी दुईबीच केही छ भन्ने चर्चा यतिबेला व्यापक छ ।
यद्यपि उनीहरू दुवै जनाका लागि अफेयर कुनै नौलो कुरा होइन । ह्यामिल्टनको अमेरिकी गायिका निकोल शेरजिगरसँग करिब आठ वर्ष लामो अफेयर थियो । उनीबाहेक ह्यामिल्टनको नाम अन्य धेरै महिलासँग जोडिएर आउँछ । त्यसैगरी मिनाजको पनि र्यापर सफारी स्यामुअल तथा मिक मिलीसँग नाम जोडिन्थ्यो ।