साप्ताहिक संवाददाता
जर्मनीकी फर्मुला थ्री रेसर सोफिया फ्लोरेस ८ दिनको अस्पताल बसाइपश्चात् गत सोमबार घर फर्किन् । यस पटकको मकाउ ग्रांपीमा प्रतिस्पर्धा गर्ने क्रममा उनी दुर्घटनामा परेकी थिइन् । १७ बर्षिया फ्लोरेस लामो उपचारपश्चात् ठीक अवस्थामा आएकी हुन् ।
यसलाई उनले आफ्नो दोस्रो जन्म भनेकी छिन् । दुर्घटनापश्चात् सोफियाको ढाडको हड्डी भाँचिएको थियो । चिकित्सकहरूले करिब १० घण्टाको कठिन शल्यक्रियापश्चात् उनलाई खतरामुक्त गराएका थिए ।
रेसका दौरान प्रतिस्पर्धी ड्राइभर जापानकी सुबोईलाई उछिन्ने प्रयास गर्दा सोफियाले कारको नियन्त्रण गुमाइन् र करिब २ सय ७६ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको उनको कार सुबोईको कारसँग ठोक्किँदै मिडिया सेक्सन रहेको भवनमा गएर बजारिएको थियो । दुर्घटनामा सोफियाका अतिरिक्त जापानी ड्राइभर सुबोई, दुई जना फोटोग्राफर तथा एक मार्सलसमेत घाइते भएका थिए ।