गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक बढ्दो क्रममा छन् । मुलुकको पुनर्संरचनापछि प्रदेश नम्बर ५ ले आर्थिक समृद्धिको आधार पर्यटनलाई नै मानेको छ र त्यसमा पनि लुम्बिनीलाई केन्द्र बनाइएको छ ।
पर्यटक बढेसँगै लुम्बिनीमा नयाँ–नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रमसमेत बढ्दो छ । विश्व सम्पदामा सूचीकृत लुम्बिनीमा बर्सेनि लाखौं पर्यटक पुग्छन् । प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना पूर्ण कार्यान्वयनको अन्तिम चरणमा छ । उक्त गुरुयोजनाअनुसार लुम्बिनीको उत्तरतर्फ तीन माइल क्षेत्रमा सुविधासम्पन्न होटलहरू स्थापना गरिएका छन् ।
अहिले लुम्बिनी आउने ९० प्रतिशत पर्यटकले त्यहाँ एक रात मात्र बिताउँछन् । अधिकांश पर्यटक भारत हुँदै आउने भएकाले उनीहरूको बसाइ लम्याउने थप योजना आवश्यक छ । यहाँ रहेका रिसोर्ट तथा होटलले ५० देखि ८० जनासम्म युवालाई रोजगारी दिएका छन् ।
लुम्बिनी होक्के होटल
यो होटल सन् १९९१ जनवरी १० मा जापानी लगानीमा सञ्चालनमा आएको हो । लुम्बिनी विकास कोषसँग सम्झौता गरी जापानको होक्के क्लबले यसको स्थापना गरेको हो । दुई वर्षदेखि नेपालको यति गु्रपले यसको व्यवस्थापन हेर्दै आएको छ । यो होटललाई आकर्षक तलाउले घेरेको छ, जहाँ कमलका फूल फुलिरहेका हुन्छन् । यो होटलमा ७ वटा डिलक्स कोठा छन् र तीमध्ये ६ वटा कोठा जापानी तातामी शैलीका छन् । ती कोठामा काठको भुइँमा बिछ्यौना सजाइएको छ भने अरू २१ वटा कोठा पश्चिमा शैलीका छन् । यो होटलका कोठाहरू वातानुकूलित छन् । जापानी तथा कोरियाली पर्यटक यो होटलका मुख्य ग्राहक हुन् ।
यो होटलमा विदेशी पर्यटकहरूले सिंगल कोठाका लागि ८० डलर तथा डबलका लागि ९० डलर तिर्नुपर्छ, जसमा कम्प्लिमेन्ट्री ब्रेकफास्ट उपलब्ध हुन्छ । यसैगरी नेपाली पर्यटकले सिंगल कोठाको ४ हजार ५ सय रुपैयाँ तथा डबल कोठाको ६ हजार रुपैयाँ तिर्नुपर्छ ।
यहाँ अन्तर्राष्ट्रिय मापदण्डका खाद्य सामग्रीहरू प्रयोग गरिन्छ । जापानी, चिनियाँ, भारतीय तथा नेपाली परिकारका साथै सी फुड यो होटलको मुख्य परिकार हो । होटलको उत्तरतर्फ शान्तिको प्रतीक विश्वशान्ति स्तूपा छ । यो होटल भैरहवास्थित सिद्धार्थ गौतम बुद्ध विमानस्थलबाट १५ किलोमिटरको दूरीमा पर्छ । यहाँ पर्यटकहरूको मागअनुसार लुम्बिनीका सबै ऐतिहासिक क्षेत्र घुमाउने टुर गाइडको समेत व्यवस्था छ । यो होटलको ९० प्रतिशत बुकिङ भारतीय एजेन्टहरूमार्फत हुँदै आएको छ ।
लुम्बिनी होटल कासाई
जापानी लगानी तथा नेपाली व्यवस्थापनमा सञ्चालित कासाई होटलको आफ्नै विशेषता छ । यो होटलको मुख्य उद्देश्य लुम्बिनी आउने पर्यटकलाई शान्त एवं सुन्दर वातावरणमा सेवा प्रदान गर्नु हो । जापानी नागरिक डा.नवुओ कासाई (टोकुसाइन) लुम्बिनी होटलका संस्थापक हुन् । यहाँ जापानी मापदण्डअनुसार छनौट भएका अनुभवी नेपाली कर्मचारी कार्यरत छन् । होटलका कोठा वातानुकूलित हुनुका साथै प्रत्येक कोठामा रेफ्रिजेरेटर, बाथटप तथा हेयरड्रायरको सुविधा उपलब्ध हुन्छन् । यो होटलका कोठामा काठ प्रयोग गरी नेपाली वास्तुकलाको नमुनासमेत प्रस्तुत गरिएको छ । होटलमा २ स्विट्ससहित २८ वटा डिलक्स रुम छन् । स्विट्सलाई जापानी शैली तथा गुणस्तरमा निर्माण गरिएको छ जुन लुम्बिनीको प्रकृति सुहाउँदो छ ।
लुम्बिनी होटल कासाईमा बाह्य पर्यटकका लागि एक रातको डिलक्स सिंगल रुम १ सय ३० डलर तथा डबल रुम १ सय ५० डलरमा उपलब्ध गराइन्छ भने नेपाली पर्यटकहरूले भने ४ हजार ९ सय तथा ६ हजार ९ सय रुपैयाँ तिर्नुपर्छ । उक्त शुल्कमा ब्रेकफास्ट नि:शुल्क उपलब्ध हुन्छ ।
होटलमा आउने नवविवाहित तथा युगल जोडीका लागि स्विट्स उपलब्ध छ । स्विट्सको सेवा लिन विदेशी पर्यटकले २ सय ५० डलर तिर्नुपर्छ भने नेपाली पर्यटकले ११ हजार रुपैयाँ तिर्नुपर्छ । यो होटलमा जापानी परिकारका साथै नेपाली, भारतीय एवं कन्टिनेन्टल परिकारहरूको समेत स्वाद लिन सकिन्छ । लुम्बिनी होटल कासाईको रेस्टुराँको आवश्यकता पूरा गर्न अर्गानिक तरकारी गार्डेनसमेत निर्माण गरिएको छ, जहाँ सिजनअनुसार सबै किसिमका तरकारी फलाइन्छ । यो होटलको ब्रेकफास्टमा ब्रेड, जाम, बटर, केक, अण्डा, सलाद, जुस, कफी वा चिया उपलब्ध हुन्छ । लन्चमा चाउचाउ, खाना, सलाद, फ्रुटसहित आफनै करेसाबारीको अर्गानिक तरकारी ख्वाइन्छ भने डिनरमा जापानी तथा भारतीय परिकारका साथै नेपाली खानासमेत उपलब्ध गराइन्छ ।
होटलमा आवासीय सेवा लिने पर्यटकहरूले नि:शुल्क स्वीमिङ गर्न सक्छन् । यो होटलले एकपटकमा ६० जना पर्यटक राख्ने क्षमता राख्छ । यो होटलको स्वागत कक्षमा आकर्षक सजावटसहित नेपाली ह्यान्डिक्राफ्टका सामानको बिक्री कक्षसमेत छ ।
बुद्धमाया गार्डेन होटल
बुद्धमाया गार्डेन होटल कर्ण शाक्यले सञ्चालनमा ल्याएका हुन् । विश्वसम्पदा सूचीमा पर्ने लुम्बिनी गार्डेन होटलको केही दूरीमा छ । बुद्धमाया गार्डेन होटलमा बिहान चराका मीठो गीत अनि शान्त मनोरम वातावरणमा घुम्दा आनन्द महसुस हुन्छ । यो होटलमा आनन्ददायक कोठा उपलब्ध हुनुका साथै लुम्बिनीमा रहेका सबै पवित्र ठाउँहरूका साथै मोनास्ट्री तथा ऐतिहासिक स्थलका बारेमा जानकारी दिनसक्ने कर्मचारीहरू खटिएका छन् ।
करिब ५ बिघामा फैलिएको यो होटल लुम्बिनी क्षेत्रमा भएका होटलमध्ये सबैभन्दा बढी पर्यटक राख्ने क्षमता भएको होटल हो । यो होटलमा विभिन्न स्तरका ७६ वटा कोठा छन् । डिलक्स, स्ट्यान्डर्ड र स्वीट गरी ३ स्तरका कोठामा पर्यटकहरूले क्षमताअनुसार सेवा लिन सक्छन् । बाह्य पर्यटकहरूले एक रातको न्यूनतम ८० देखि १ सय डलर तथा नेपाली पर्यटकहरूले ८ हजार रुपैयाँ तिर्नुपर्छ । होटलमा १ सय जना क्षमताको कन्फ्रेन्स हलसमेत छ भने स्वीमिङ पुलको सुविधा पनि छ ।
लुम्बिनी गार्डेन न्यू क्रिस्टल
लुम्बिनी गार्डेन न्यू क्रिस्टल बुद्ध जन्मस्थलमा भित्रिने पर्यटकहरूको न्यानो स्वागतका लागि तम्तयार छ । लुम्बिनीको आध्यात्मिकता बुझ्न आउने पर्यटकहरूलाई यहाँ रहेका ऐतिहासिक धरोहरको चिनारी, अन्तर्राष्ट्रिय मोनास्ट्रीहरू, शान्तिस्तूप आदि क्षेत्रको भ्रमण तथा जानकारी टुर गाईडमार्फत उपलब्ध गराइन्छ । करिब ६ बिघा क्षेत्रफलमा फैलिएको यो होटल सिद्धार्थ गौतम बुद्ध विमानस्थलबाट १८ किलोमिटरको दूरीमा छ । आकर्षक पोखरीहरूले सजाइएको पूर्वाधारमा ७२ वटा शान्त, मनोरम तथा गार्डेनसहितका कोठाहरू छन् । विदेशीहरूका लागि सिंगल कोठाको ८० डलर तथा डबल कोठाको ९० डलर लाग्छ, जसमा कम्प्लिमेन्ट्री ब्रेकफास्ट उपलब्ध हुन्छ । नेपालीहरूले भने ५ हजार रुपैयाँ तिरे पुग्छ ।
लुम्बिनी आउने पर्यटकमध्ये कोरियाली, थाई, चिनियाँ तथा भियतनामीहरूको प्राथमिकतामा छ यो होटल । लुम्बिनीको ऐतिहासिक पुष्करिणी पोखरी झल्काउने हरियालीसहित रूखहरूको बगैंचाका कारण पनि यो होटल आकर्षक देखिन्छ । बुद्धिष्ट आध्यात्मिकता र शान्ति यो होटलको बगैंचा तथा हरेक कोठामा फेला पार्न सकिन्छ । यो होटलको बनावट तथा भित्री सजावट परम्परागत नेपाली शैलीको छ ।
लुम्बिनी बुद्ध गार्डेन रिसोर्ट
लुम्बिनी बुद्ध गार्डेन रिसोर्टभित्र प्रवेश गर्दा घना जंगल क्षेत्रभित्र प्रवेश गरे जस्तो अनुभूति हुन्छ । यो रिसोर्टको स्थापना सन् २००३ मा भएको हो । भौतिक पूर्वाधार निर्माणकै क्रममा यहाँ विभिन्न फलफूलका बोट रोपिएको थियो । यो रिसोर्टमा लुम्बिनीका पर्यटकिय क्षेत्र घुम्न टुर गाइड, सवारी साधन तथा मुद्रा सटहीको समेत सुविधा छ । रिसोर्ट क्षेत्रमा वाईफाई नि:शुल्क हुनुका साथै समाचार पढ्ने लबीको समेत व्यवस्था छ । जंगलको बीचमा भएजस्तो लाग्ने यो रिसोर्टमा वास्तवमै शान्त एवं मनोरम वातावरण फेला पार्न सकिन्छ ।
मायादेवीको मन्दिर रिसोर्टबाट अढाई किलोमिटरको दूरीमा छ । यो रिसोर्ट सिद्धार्थ गौतमबुद्ध विमानस्थलबाट १४ किलोमिटरको दूरीमा अवस्थित छ । करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा ३ क्याटागोरीका आवासीय सेवा उपलब्ध छन्, जसअन्तर्गत टेन्ट, कटेज र पश्चिमा शैलीका १८ वटा कोठा छन् । यो रिसोर्टमा नेपाली पर्यटकहरूले सिंगल बेडको ३ हजार तथा डबल बेडको ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । बाह्य पर्यटकहरूले भने ७० देखि ८० डलरसम्म तिर्नुपर्छ । यो रिसोर्टमा नेपाली, भारतीय तथा चिनियाँ परिकारहरू उपलब्ध हुन्छन् ।