साप्ताहिक संवाददाता
फ्रेन्चहरू खानपान तथा वाइनका लागि संसारमै सौखिन मानिन्छन् । फ्रान्सेली केन्द्रकी निर्देशक पोलिन भँजोँ पटक–पटक नेपाल घुम्न आइन् । पहिले पर्यटकका रूपमा, पछि जागिरेका रूपमा । उनीसँग खानपान तथा घुमघामका सम्बन्धमा गरिएको कुराकानी :
तपाईंलाई मनपर्ने नेपाली परिकार ?
मलाई नेपाली परिकारमा दाल, भात, मम, आलु, चाउमिन, चिकेन साँधेको तथा रोटी मन पर्छ ।
नेपाली रक्सी पिउनुभएको छ ?
अँ, कीर्तिपुरको एउटा रेस्टुराँमा मैले ऐला (नेवाली रक्सी) को स्वाद लिएकी छु । एकदम कडा थियो ।
काठमाडौंमा तपाईं निरन्तर गैरहने कुनै क्याफे–रेस्टुराँ ?
थकाली किचेन प्राय: गैरहन्छु । दुई महिनाअघि पाटन, मंगलबजारमा खुलेको रैथानेमा पनि बरोबर गैरहन्छु । त्यहाँको मेनुमा परम्परागत परिकारहरू समावेश छन् भने ठाउँ र सजावट समेत एकदम राम्रो लाग्छ । त्यहाँ नयाँ–नयाँ परिकारको स्वाद चाख्न पाइन्छ । म विकल्प क्याफे पनि गैरहन्छु । त्यहाँ लाइभ म्युजिक सुन्दै बस्न मजा आउँछ । म त्यहाँ कला प्रदर्शनि पनि हेर्न रुचाउँछु ।
बार र क्लबमा कत्तिको जानुहुन्छ ?
बेलाबेलामा जान्छु । पर्पल हेज, फाट् काट तथा डेला सोलमा बरोबर पुगिरहन्छु । म रेगी म्युजिक सुन्न रुचाउँछु भने डान्स गर्दा पनि रमाउँछु ।
घुमघाम कत्तिको मनपर्छ ? नेपालमा कहाँ–कहाँ पुग्न मन छ ?
घुमघाम मन नपराउने मानिस कमै हुन्छन् । मलाई नेपालका जुम्ला, पोखरा, मनास्लु, जनकपुर, लुम्बिनी, चितवन तथा पोखरा पुगेर नेपाली संस्कृति एवं जीवनशैली बुझ्न मन छ ।
फ्रान्सको कुन कुरा मिस हुन्छ ?
फ्रेन्च खानेकुरा अनि मेरो ब्वाइफ्रेन्ड ।