साप्ताहिक संवाददाता
हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा र योमरी पुन्ही भोलि शनिबार देशैभरि मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ । यो पर्वमा धानको विशेष महत्व हुन्छ । धानलाई लक्ष्मीका रूपमा पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवताहरुलाई अर्पण गरेपछि मात्र आफूले खाने परम्परा छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर नयाँ धानबाट चामलको खीर भोग लगाउने गरिन्छ ।
नेवार समुदायले यो दिनलाई थिन्ला पुन्ही वा योमरी पुन्हीका नामले मनाउने गर्छन् । धान्यपूर्णिमा र योमरी पुन्ही पर्व दिन पृथ्वीमाताले दिएको धानप्रति खुसी व्यक्त गर्दै पृथ्वीको पूजा पनि गरिन्छ । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । यो अवसरमा लक्ष्मी, कुवेर, कुमार तथा गणेशको पूजा गर्ने चलन छ । यी सबै देवतालाई चढाएर मात्र योमरी खाने गरिन्छ । नेपाल भाषाको शब्द ‘योमरी’ दुई शब्द मिलेर बनेको हो । ‘यो’ र ‘मरी’ शब्द मिलेर ‘योमरी’ बनेको हो । ‘यो’ को अर्थ ‘मनपर्ने’ र ‘मरी’को अर्थ ‘रोटी’ हो ।
यसै दिनलाई लिम्बू समुदायले बाली भित्र्याएपछि न्वागी खाने पर्वका रूपमा मनाउने गर्छन् ।
किराँत समुदायका कतिपय जातजातिमा यो दिन प्रकृति, पितृ र कुलदेवतालाई पूजा गर्ने परम्परा छ भने सामुहिक रूपमा उधौली पर्व मनाउने गरिन्छ ।