चिसो सिरेटो, हुस्सु र सिमसिमे पानी साथमा मौलिकता, अपनत्व र सांस्कृतिक प्रेम । प्रतिकुल मौसमको बापजुत आईतबार हङकङमा बसोबास गर्ने किरात राईहरुले साकेला उधौली पर्व धुमधामका साथ मनाएका छन् ।
हङकङकै अग्लो स्थान ताईमोसानको डाँडामा मौलिक भेषभुषामा सजिएका किरात राईहरुले बजाएको ढोल र झ्याम्टाले, हङकङमा पनि नेपाली सांस्कृतिक विविधता र मौलिकताको परिचय दिईरहेको थियो ।
कार्यक्रम किरात राई यायोक्खा हङकङले आयोजना गरेको हो । आधुनिक शहर हङकङमा बसोबास गर्ने नयाँ पुस्तालाई हाम्रो धर्म, संस्कार र पर्वहरुको जानकारी दिनपनि यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुन्छन् । विविध कारणले हामी प्रवासमा छौ, हाम्रो संस्कार र अपनत्वले हामीलाई सदैव हाम्रो माटो र परम्परासँग नजिक बनाउँछ, किराया हङकङका अध्यक्ष हरि साम्पाङ् राई बताउँछन् ।
जाडो महिना शुरु भएसँगै न्यानो खोज्न तराईतर्फ जाने र गर्मी महिना शुरु भएपछि चिसो खोज्न लेकतिर जाने प्राकृतिक मान्यता अनुरुप नै उधौली उभौली पर्व मनाउँन थालिएको विश्वास गरिन्छ । प्रकृति पुजक किरात राईहरुले प्रकृति र पितापुर्खाहरुको सम्मानका लागि सामुहिक चुल्होमा पुजा गरेपश्चात गोलो घेरामा युवायुवती, वृद्धृवृद्धासँगै ढोल, झयाम्टा बजाएर नाच्दै यो पर्वको शुरुवात गरिन्छ ।