साप्ताहिक संवाददाता
वर्ष २०१९ मा बलिउडमा सयौं चलचित्र प्रदर्शन हुनेछन् । तीमध्ये सम्भावना बोकेका केही चलचित्र :
उरी सर्जिकल स्ट्राइक
पुस २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘उरी सर्जिकल स्ट्राइक’ एक्सन चलचित्र हो, जुन सत्य घटनामा आधारित छ । सन् २०१६ मा जम्मू कश्मीरको उरी गाउँमा भारतीय सेनाले पाकिस्तानी सेनाविरुद्ध कारबाही चलाएको थियो । उक्त सर्जिकल स्ट्राइकका कारण पाकिस्तानको सेनापछि सर्नु परेको थियो । यही सत्य घटनालाई निर्देशक आदित्य धारले चलचित्रको रूप दिएका हुन् । यो चलचित्रमा बिक्की कौशल तथा यामी गौतम मुख्य भूमिकामा छन् ।
ठाकरे
यो एउटा बायोपिक चलचित्र हो । चलचित्रमा महाराष्ट्रका नेता बाल ठाकरेको जीवनलाई चित्रण गरिएको छ । चलचित्रमा बाल ठाकरेको भूमिका नवाजुद्दिन सिद्दिकीले निर्वाह गरेका छन् । यो चलचित्रको फस्ट लूक सार्वजनिक हुँदा नवाजुद्दिनलाई चिन्न गाह्रो परेको थियो । २३ जनवरी (माघ ९ गते) बाल ठाकरेको ९३ औं जन्मदिन हो, त्यही दिन अभिजीत पेनसेद्वारा निर्देशित यो चलचित्र प्रदर्शनमा आउनेछ ।
मणिकर्णिका
झाँसीकी रानी लक्ष्मी बाई महान् योद्धा थिइन् । भारतको स्वतन्त्रता आन्दोलनमा उनको विशेष योगदान थियो । चलचित्र मणिकर्णिका तीनै महान् महिलाको जीवनकथामा आधारित छ । यो चलचित्र यसअघि सन् २०१८ मै प्रदर्शन हुने भनिएको थियो, यद्यपि केही कारणले प्रदर्शन हुन सकेन । अब यो चलचित्र माघ ११ गते प्रदर्शनमा आउनेछ । कृष तथा कंगना रणावतद्वारा निर्देशित यो चलचित्रमा अभिनेत्री कंगना, डेनी डेङ्जोङ्पा, अतुल कुलकर्णी, अंकिता लोखंडे आदि कलाकारले अभिनय गरेका छन् ।
सुपर ३०
यो पनि एउटा बायोपिक चलचित्र हो, जसमा भारतका महान् गणितज्ञ आनन्द कुमारको जीवनी चित्रण गरिएको छ । विकास बहलद्वारा निर्देशित यो चलचित्रमा अभिनेता ऋतिक रोशनले मुख्य भूमिका निर्वाह गरेका छन् । लामो समयपछि ऋतिक यही चलचित्रमार्फत दर्शकमाझ आउन लागेका हुन् । आनन्द कुमार बिहारमा आईआईटीको कोचिङ सञ्चालन गर्छन्, जहाँ हरेक बालबालिका आईआईटीका लागि छनौट हुन्छन् । यो चलचित्र पनि पहिले सन् २०१८ मै प्रदर्शन हुने तय थियो, यद्यपि अब यो चलचित्र माघ ११ गते प्रदर्शनमा आउनेछ । यो चलचित्रसँगै पूर्व प्रेमी–प्रेमिका ऋतिक तथा कंगना पुन: एकपटक आफ्ना नयाँ चलचित्रमार्फत एकै दिन दर्शकमाझ आउने छन् । यी दुईमध्ये कसले बाजी मार्ने हुन्, नतिजा रोचक हुनेछ ।
एक लडकीको देखा तो ऐसा लगा
यो वर्षको भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र हो एक लडकीको देखा तो ऐसा लगा । फागुन २ गते सार्वजनिक हुने यो रोमान्टिक चलचित्रमा सोनम कपुर तथा उनका पिता अनिल कपुर एकसाथ देखिनेछन् । अनिल कपुर र मनिषा कोइरालाको चलचित्र ‘१९४२ अ लभ स्टोरी’ को एउटा लोकप्रिय गीतबाट यो चलचित्रको शीर्षक जुराइएको हो । यो चलचित्रमा अनिल कपुर तथा जुही चावलाको जोडी बाँधिएको छ । राजकुमार रावसमेत महत्वपूर्ण भूमिकामा देखिने यो चलचित्रको निर्देशन शेली चोपडा धारले गरेकी हुन् ।
टोटल धमाल
धमाल श्रृंखलाको तेस्रो सिक्वेल हो— टोटल धमाल, जुन फागुन १० गते प्रदर्शनमा आउनेछ । यसअघि सन् २००७ तथा २०११ मा धमालका अघिल्ला श्रृंखला प्रदर्शनमा आएका थिए । ती दुवै कमेडी चलचित्रलाई दर्शकले अत्यन्त रुचाएका थिए । यसको तेस्रो श्रृंखलाले पनि दर्शकलाई हँसाउने निश्चित छ । इन्द्र कुमारद्वारा निर्देशित यो चलचित्रमा अनिल कपुर, अजय देवगण, माधुरी दीक्षित, अरशद वारसी आदि कलाकारले अभिनय गरेका छन् ।
गुल्ली ब्वाइ
जोया अख्तरद्वारा निर्देशित चलचित्र ‘गुल्ली ब्वाइ’ एउटा म्युजिकल ड्रामा हो । यो चलचित्रमा रणवीर सिंह तथा आलिया भट्टलाई पहिलो पटक जोडीका रूपमा प्रस्तुत गरिएको छ । चलचित्रमा उनीहरूसँगै कल्की कोचिन तथा पूजा गौरले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो चलचित्र पनि भ्यालेन्टाइन डेकै अवसर पारेर प्रदर्शनमा आउने सम्भावना छ ।
सोन चिरैया
यो एउटा सस्पेन्स थ्रिलर चलचित्र हो । अभिषेक चौबेद्वारा निर्देशित चलचित्र सोन चिरैयामा सुशान्त सिहं राजपूत तथा भूमि पेडनेकर मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन चम्बलमा गरिएको हो । माघ २५ गते प्रदर्शन मिति तय गरिएको यो चलचित्रमा सुशान्तले डाँकाको भूमिका निर्वाह गरेका छन् । चलचित्र सौन चिरैयामा सन् १९७० को चम्बलघाँटीको कथा चित्रण गरिएको छ, जहाँ डाँकाहरूको शासन चल्थ्यो । प्रारम्भमा यो चलचित्रको शीर्षक नै चम्बल राखिएको थियो, पछि परिवर्तन गरेर सोन चिरैया राखिएको हो ।
सन्दीप और पिंकी फरार
फागुन १७ गते प्रदर्शनमा आउने यो चलचित्रमा परिणिति चोपडा तथा अर्जुन कपुर मुख्य भूमिकामा छन् । दिवाकर बनर्जीद्वारा निर्देशित यो चलचित्रलाई यशराज फिल्म्सले निर्माण गरेको हो । यो चलचित्र रोमान्टिक थ्रिलर शैलीको छ । चलचित्र सन्दीप और पिंकी फरारका केही दृश्य नेपालमा समेत छायांकन गरिएको छ ।
केसरी
अनुराग सिंहद्वारा निर्देशित चलचित्र केसरीमा अक्षय कुमार, परिणीति चोपडा, भाग्यश्री आदि कलाकारले अभिनय गरेका छन् । यो एउटा पिरियड ड्रामा चलचित्र हो । चलचित्रको कथा हवलदार इशर सिंहको जीवनमा आधारित छ, जसमा सारागढको लडाइँ देखाइएको छ । यो चलचित्र चैत ७ गते प्रदर्शनमा आउने सम्भावना छ ।
कलंक
अभिषेक बर्मनद्वारा निर्देशित यो चलचित्रलाई वर्ष २०१९ कै सबैभन्दा ठूलो पिरियड ड्रामा भनिएको छ । वैशाख ६ गते प्रदर्शनमा आउने यो चलचित्रमा सञ्जय दत्त, वरुण धवन, आदित्य रोय कपुर, माधुरी दीक्षित, सोनाक्षी सिन्हा, आलिया भट्ट, कुनाल खेमु आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्र निर्माणका सम्बन्धमा करण जौहर तथा उनका बुवाले धेरै वर्ष अघिदेखि योजना बनाएका थिए । प्रारम्भमा अभिनेत्री श्रीदेवीलाई यो चलचित्रका लागि प्रस्ताव राखिएको थियो । उनको निधनपछि माधुरीलाई प्रस्ताव राखियो । मुम्बईमै सेट बनाएर छायांकन भैरहेको यो चलचित्रमा पुरानो दिल्लीको परिवेश देखाइनेछ ।
दे दे प्यार दे
यो एउटा रोमान्टिक कमेडी चलचित्र हो, जुन वैशाख १३ गते प्रदर्शनमा आउनेछ । अभिक अलिद्वारा निर्देशित यो चलचित्रमा अजय देवगण, रकुल प्रितसिंह, तब्बु तथा जिम्मी शेरगिल मुख्य भूमिकामा छन् । यो चलचित्रमा पहिलो पटक अजय–रकुलको विचित्रको जोडी देख्न पाइनेछ । चलचित्र दे दे प्यार देले युवा–युवतीको सम्बन्धमा व्यंग्य कस्ने बताइन्छ ।
स्टुडेन्ट अफ द इयर–२
यो रोमान्टिक चलचित्रको पहिलो श्रृंखला सन् २०१२ मा प्रदर्शनमा आएको थियो । चलचित्रको दोस्रो श्रृंखलालाई पुनित मल्होत्राले निर्देशन गरेका छन्, जसमा टाइगर श्राफ, तारा सुथरिया तथा अनन्या पाण्डे मुख्य भूमिकामा छन् । वैशाख २७ गते प्रदर्शनमा आउने यो चलचित्रमा एउटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको जीवनशैली चित्रण गरिएको छ ।
इन्डियाज मोस्ट वान्टेड
राजकुमार गुप्ताद्वारा निर्देशित यो एउटा थ्रिलर चलचित्र हो, जसमा अर्जुन कपुर मुख्य भूमिकामा छन् । चलचित्रमा उनले जासूसको भूमिका निर्वाह गरेका छन् । देशभक्तीसंग जोडिएको यो चलचित्र जेठ १० गते प्रदर्शनमा आउनेछ ।
भारत
जेठ २२ गते प्रदर्शनमा आउने चलचित्र भारत अलि अब्बास जाफरले निर्देशन गरेका हुन् । यो चलचित्रमा सलमान खान, कट्रिना कैफ, तब्बु, दिशा पटानी, सुनिल ग्रोवर आदि कलाकारले अभिनय गरेका छन् । मुस्लिमहरूको महान् पर्व इदको अवसर पारेर प्रदर्शन हुने चलचित्र भारतको छायांकन माल्टा तथा पञ्जाबमा गरी दुई भिन्न सेड्यूलमा गरिएको छ । आफ्नो पछिल्लो चलचित्रको असफलतालाई यो चलचित्रले टुंग्याउने अभिनेता सलमान खानको विश्वास छ ।
कबीर सिंह
असार ६ गते प्रदर्शनमा आउने यो चलचित्रमा शाहिद कपुर मुख्य भूमिकामा छन् । तेलगु भाषाको चलचित्र अरुज रेड्डीको यो हिन्दी संस्करणलाई सन्दिप भांगाले निर्देशन गरिरहेका छन् ।
हाउसफुल–४
तिहारको अवसर पारेर कात्तिक ८ गते प्रदर्शन हुने चलचित्र हाउसफुल–४ लाई फरहाद सामजीले निर्देशन गर्दैछन् । यो कमेडी सिक्वेल चलचित्रमा अक्षय कुमार, रितेश देशमुख, बबी देओल, कृति सेनन, चंकी पाण्डे आदि कलाकारले अभिनय गरिरहेका छन् । चलचित्रका अघिल्ला तीन श्रृंखलाको तुलनामा यो चलचित्रमा अझ बढी कमेडी सिक्वेन्स समावेश गरिएको बताइन्छ ।
पानीपत
निर्देशक आशुतोष गोवारिकर लामो समयपछि एउटा ऐतिहासिक चलचित्र लिएर आउँदैछन् । मंसिर ६ गते प्रदर्शन मिति तोकिएको यो चलचित्रमा सञ्जय दत्त, अर्जुन कपुर, कबिर बेदी तथा कृति सेनन मुख्य भूमिकामा छन् ।
ब्रह्मास्त्र
रणवीर कपुर तथा आलिया भट्टको मुख्य भूमिकाको चलचित्र ब्रह्मास्त्र अर्को वर्षको पुस ४ गते प्रदर्शन हुने छ । क्रिसमसको पूर्वसन्ध्या पारेर प्रदर्शनमा आउने यो चलचित्रलाई आयान मुखर्जीले निर्देशन गर्दैछन् । यो चलचित्रमा अमिताभ बच्चन तथा डिम्पल कपाडियाले समेत अभिनय गर्ने बताइएको छ ।