बुटवल अमरपथका विकल मल्ललाई टाटु मन पर्छ । बुटवलमा सञ्चालित दुईदिने टाटु फेस्टोमा दाहिने खुट्टामा इगलको चित्र कुँदाउने क्रममा उनी निकै खुसी देखिए । हात र शरीरका अन्य भागमा समेत टाटु बनाएका मल्ल यसलाई आफ्नो सोख मान्छन् । दायाँ हातमा उनले आफ्ना हजुरबुबाको तस्बिर कुँदाएका छन् ।
बर्दघाटका मुकेश क्षेत्री दाहिने हातमा बुद्धको आकर्षक चित्र कुँदाइरहेका भेटिए । बुद्धभुमि लुम्बिनी निवासी भएकाले पनि भगवान बुद्धको चित्र कोरेको उनी बताउँछन् । ‘म आज निकै खुसी छु,’ क्षेत्रीले भने । शान्तिका प्रतीक बुद्धको चित्र कोर्दा निक्कै मज्जा लागेको उनले बताए ।
युवाहरूमाझ शरीरमा विभिन्न आकृतिका टाटु बनाउने प्रचलन छ । शारीरिक आकर्षण बढाउने उद्देश्यका साथ युवाहरूमा शरीरका विभिन्न भागमा भगवानका आकृतिदेखि लिएर आफन्तको चित्रसम्म कोर्ने प्रचलन फस्टाउँदो छ । टाटुका विषयमा जानकारी दिने र यसका सकारात्मक पाटालाई बुझाउने उद्देश्यका साथ रुपन्देहीमा पहिलो पटक दुईदिने टाटु फेस्टोको आयोजना गरिएको हो ।
रुपन्देहीमा रहेका टाटु स्टुडियोहरूले बुटवलमा आयोजना गरेको टाटुइङ फोर च्यारिटी फेस्टो–२०१९ मा टाटुका सम्बन्धमा बुझ्ने र टाटु खोपाउनेहरूको भीड लागेको थियो । टाटु बिजका सञ्चालक विशाल थापाले रुपन्देहीमा रहेका ११ वटै स्टुडियो हाइजेनिक रहेको बताए । टाटु डेफ्तका सञ्चालक कुलदिप थापामगरले उक्त क्षेत्रमा काम गर्ने टाटु आर्टिस्टहरूलाई संगठित गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजित गरिएको बताए ।