‘‘माघे संक्रान्तिमा घिउ सँग खित्रो, तिलको लड्डु तथा चाकु खाँदाको आनन्द बेग्लै छ । साथै, पश्चिम जाँदा रिडीको तीर्थ अनि तराई झर्दा घुँगी असाध्यै मनपर्छ ।’’
माघे संक्रान्तिको सबैभन्दा राम्रो पक्ष भनेको यो १ गते पर्छ । कर्मचारीहरूको तलब आउँछ अनि घिउ चाकु किन्नका लागि पैसा हुन्छ । प्राय: चाड महिनाको बीचमा पर्छ र पैसा सकिँदै जाने हुनाले अलि गाह्रो पर्छ । अनि अर्को कुरा जाडोले चिसिएको शरीरमा घिउ–चाकु खाएर तात्दाको रमाइलो छुट्टै हुन्छ ।
दीपकराज गिरी, अभिनेता
मेरो घर गाउँ नजिकै रहेको कालिगण्डकी नदीको विभिन्न ठाउँहरू जस्तै राम्दी, रिडीमा ठूलो धार्मिक मेला लाग्छ । त्यहाँ नुहाउन गइन्थ्यो । साथै घरमा त्यो दिन आमाले पकाएको खिचडी र घिउ–चाकु खाइन्थ्यो । ती दिनहरू सम्झँदा रमाइलो लाग्छ ।
शिरीष देवकोटा, गायक
माघे संक्रान्तिको रमाइलो पक्ष भनेको तरुल, घिउ–चाकु किसिम–किसिमका तिलका लड्डु खाने अनि आगो ताप्ने हो । म हरेक माघे संक्रान्तिमा बिहान चाँडै उठेर नुहाउँछु र आगो ताप्छु । अघिल्लो दिन पुस महिनामै पकाएको तरुल घिउ–चाकु मस्त भुँडी फुट्ने गरी खान्छु । झापा गौरादहमा हुँदा माई मेला गएको पनि सम्झना छ ।
घनश्याम गौतम, हास्यकलाकार
कक्षा ६ मा अध्ययनरत छँदा माघे संक्रान्तिको दिन झापाको माइ खोलामा नुहाउने क्रममा डुबेको थिएँ । त्यो कुरा माघे संक्रान्ति आएपछि सम्झना आइहाल्छ । अनि माघे संक्रान्तिमा लड्डु, तरुल खाँदाको आनन्दको त कुरै नगरौं ।
कुवेर खड्का, अभिनेता
आफन्तजनसँग बसेर तिलौरा, तरुल, सेलरोटी खान एकदमै रमाइलो लाग्छ । बाल्यकालमा तिलको दाउरा बालेर तापेको, हजुरबुबा–हजुरआमाले तिलक लगाइदिएको अनि मिठो कुरा खान दिएको सम्झना अझै पनि ताजा छ । घरमा माघे संक्रान्ति मनाउन नपाएको धेरै भयो । त्यसैले यसपटक त्यो रहर पूरा गर्न सिन्धुली जाँदै छु ।
महेश काफ्ले, गायक
पुसमा पकाएर माघमा खाने चलन माघे संक्रान्तिको एकदमै रमाइलो पक्ष हो । गाउँमा हुँदा माघे संक्रान्तिमा तरुल खानुपर्छ भनेर बारीमा चार घण्टा लगाएर दुई किलोको तरुल खनेको सम्झना अहिले पनि ताजा छ ।
धिताल चिरिच्याट्ट, हास्यकलाकार
माघे संक्रान्तिमा विशेषगरी तिलको लड्डु खाँदाको रमाइलो अनि मासको दाल, घिउ, अदुवा मिसाएको खिचडी खान पाउँदाको मज्जा नै छुट्टै ।
नवीन पौडेल, गायक
माघे संक्रान्तिको रमाइलो त तराईमा रहँदा हुन्थ्यो । तराईमा थारु समुदायले मनाउने माघी एकदमै रमाइलो लाग्थ्यो । अझ ढिक्री र घँुगीको मज्जा छुट्टै हुन्थ्यो ।
ऋचा शर्मा, अभिनेत्री
मलाई त माघे संक्रान्तिमा हजुरआमाले बनाएको तिलको लड्डु खान निकै रमाइलो लाग्छ ।
पुजन घिमिरे, मोडल
माघे संक्रान्तिमा घिउ सँग खित्रो, तिलको लड्डु तथा चाकु खाँदाको आनन्द बेग्लै छ । साथै, पश्चिम जाँदा रिडीको तीर्थ अनि तराई झर्दा घुँगी असाध्यै मनपर्छ ।
केदार घिमिरे, हास्य अभिनेता
घिउ–चाकु र तिलको लड्डु अरुबेला भन्दा यो माघे संक्रान्तिको दिन खान मज्जा आउँछ । जाडोमा घिउ–चाकु र तिलको लड्डुले शरीर तताउँछ । त्यसैले पनि हाम्रा पुर्खाहरूले यो पर्व माघमै पारेका हुन सक्छन् । माघे संक्रान्तिमा कतिपयले मासु भात पनि खान्छन्, तर मलाई चाहिँ मासु मन पर्दैन । बिस्तारै मासु छाड्ने कोसिस गर्दैछु । अर्को कुरा माघे संक्रान्ति आएपछि मलाई गाउँको यादले छोपिहाल्छ, किनभने जुनसुकै चाडपर्व पनि सहरभन्दा गाउँमा धेरै रमाइलो हुन्छ ।
शिवहरि पौडेल, हास्य अभिनेता
माघे संक्रान्तिमा परिवारसँग बसेर विभिन्न परिकार बनाएर खानुको आनन्द बेग्लै हुन्छ । त्यो दिन नुवाइधुवाइ गर्यो अनि घाममा बसेर तेल लगायो । आफैंले बनाएर तिलको लड्डु खाने, पुसमा उसिनेको तरुल माघमा खाने चलन छ । आहा कति रमाइलो हुन्छ त्यो दिन ।
रञ्जु सुनम, मोडल
माघे संक्रान्तिमा घिउ–चाकु तरुल खाएर घर परिवारसँगै बस्नुको आनन्द छुट्टै छ । म चाहिँ हरेक वर्षको माघे संक्रान्ति मामाघरमा मनाउँछु, त्यहाँ सबैसँग भेटघाट हुने भएकाले धेरै रमाइलो हुन्छ ।
जेबिका कार्की, अभिनेत्री