दिनमै १ सय ५० कलगर्ने पोखराकी युवती
पोखरामा एक युवती मेरो डाइहार्ड फ्यान हुनुहुन्छ । मलाई उहाँको नाम चाहिँ याद भएन । उहाँ मलाई निरन्तर फोन गरिरहनुहुन्छ । यतिसम्म कि एक दिन उहाँले मलाई १ सय ५० पटकसम्म फोन गर्नुभएको छ । म फुर्सद भएका बेला फोन रिसिभ गर्थें । मैले फोन रिसिभ नगरे पनि उहाँ मलाई फोन गरिरहनुहुन्थ्यो ।
ज्याकेट च्यातिदिए
केही समयअघि म गाईघाटको एउटा कार्यक्रममा सहभागी भएको थिएँ । त्यहाँ दर्शकहरूको ठूलो भीड थियो । त्यही भीडमा केटीहरूको अलग भीड पनि थियो । मलाई त्यो भीड छिचोल्न निकै गाह्रो भयो । त्यसपछि मलाई कार्यक्रम आयोजकहरूले घेरेर स्टेजमा लाँदै हुनुहुन्थ्यो, त्यही क्रममा त्यही केटी फ्यानहरूको गु्रपले मलाई पछाडिबाट तानेर मेरो ज्याकेट नै च्यातिदिए ।
मसँग बिहे गर्छु भन्छिन्
इटहरीमा भएकी एक डाइहार्ड फ्यानले सामाजिक सञ्जालमा मलाई निरन्तर म्यासेज पठाइरहनुहुन्छ । यद्यपि उहाँसँग मेरो भेट भएको छैन । उहाँ मसँग जसरी पनि विवाह गर्छु भन्नुहुन्छ । यतिसम्म कि उहाँ मसँग विवाह गर्न मेरो बुबाममीसँग कुरा गर्छुसम्म भन्नुहुन्छ ।
स्केच बनाएर दिने फ्यान
केही दिनअघि म वसन्तपुरको एउटा कार्यक्रमा सहभागी थिएँ । त्यहाँ एक जना फ्यानले पेन्सिल स्केच बनाएर मलाई गिफ्ट दिनुभएको थियो । त्यो स्केच यति राम्रो छ कि त्यसलाई मैले आफ्नो कोठामा सजाएर राखेको छु ।
बर्थ डे केक बोकेर आउने फ्यान
मेरो जन्मदिन जेठ २९ गते हो । यसपालि म बिहानै घरमा जन्मदिन मनाएर बेलुका साथीहरूसँग बाहिर बसेको थिएँ । भोलिपल्ट घरमा आउँदा त मेरा दुई जना फ्यान वर्थ डे केक र गिफ्ट बोकेर मेरो घरमा आउनुभएको रहेछ । त्यो देखेर म आश्चर्यचकित भएँ, किनभने मैले उहाँहरूलाई चिनेको थिइनँ र उहाँहरूले पनि मेरो घर देख्नुभएको थिएन । कसरी मेरो घर पत्ता लगाएर आउनुभयो पत्तो भएन ।