साप्ताहिक संवाददाता
माघ ८, २०७५
पोर्चुगलमा स्थापना भएको नेपुगल फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रलाई निर्देशक ऋषि लामिछानेले निर्देशन गर्ने भएका छन् । नेपुगल फिल्म्सद्वारा नेपुगल फिल्म्स तथा नेपुगलडटटिभीको उद्घाटनका लागि पोर्चुगल पुगेका निर्देशक लामिछानेले पोर्चुगलमै पहिलो नेपाली चलचित्र निर्देशन गर्ने घोषणा गरिएको हो ।
नेपुगल फिल्म्सका प्रमुख गंगा बहादुर नेम्कुलले निर्देशक लामिछानेको साथ र सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गरे । निर्देशक लामिछानेसंगै पोर्चुगल पुगेका लोक गायक बिरु लामा युरोपमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागि हुँदैछन् ।
ऋषि लामिछाने पछिल्लो समय परिचय र दृष्टी शीर्षकका टेलिश्रृंखलाको निर्देशनमा व्यस्त छन् ।