साप्ताहिक संवाददाता
माघ १४, २०७५
नेपालको लोकप्रिय खेलमध्ये एउटा प्रमुख खेल हो— भलिबल । त्यसमा पनि सबैभन्दा लोकप्रिय टिममा पर्छ, न्यू डाइमन्ड एकेडेमी । यो स्कुलले आफ्नो अलग छवि बनाएको छ, सफल र उत्कृष्ट महिला भलिबल खेल्ने टिमका रूपमा । न्यू डाइमन्डले केही वर्षयता लगातार एकपछि अर्को स्टार खेलाडीलाई जन्म दिइरहेको छ । यही टिमले अहिले चलिरहेको ढोरपाटन महिला डबल लिग भने खेलेको छैन ।
कारण ? स्कुलका प्रिन्सिपल कुमार राईका अनुसार टिमका तीन प्रमुख खेलाडीले यसपटक एसईई दिंदैछन् । राई प्रिन्सिपल मात्र होइनन, भलिबल प्रशिक्षक समेत हुन् । उनको भनाइ छ— यो प्रतियोगिता लामो समय चल्छ, हामी एसईईको समयमा खेलाडीको ध्यान अध्ययनमै केन्द्रित होस् भन्ने चाहन्छौं ।