नेपाली गीतका दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिरहेकी मोडल तथा अभिनेत्री सृष्टि खड्का यो साता अचानक चर्चामा आइन् । सृष्टिले अभिनय गरेको एउटा हिन्दी गीतको म्युजिक भिडियो जी म्युजिक कम्पनिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको हो । गायिका ज्योतिका तङ्ग्री तथा गायक एसर देसाइको स्वरको कुछ तो है...शीर्षकको उक्त गीतमा सृष्टिले आकर्षक अभिनय गरेकी छिन् । तीनै सृष्टिसँग कृष्ण भट्टराईको जम्काभेट :
हिन्दी गीतको म्युजिक भिडियोमार्फत चर्चामा आउनुभएको हो ?
त्यस्तो चर्चामा आएको त होइन, तर कतिपयले बलिउडका लागि ढोका खुल्यो भनेर बधाई दिइरहनुभएको छ ।
ढोका खुलेकै हो त ?
जी टिभीले मेरो तस्बिर मन पराएपछि मात्र मलाई भिडियोका लागि फाइनल गरेको रहेछ । उक्त गीतको भिडियो सार्वजनिक भएलगत्तै थप दुई वटा हिन्दी गीतका लागि कुराकानी भैरहेको छ । यसलाई मैले सकारात्क रूपमा लिएकी छु ।
यो भिडियोको छायांकनको अनुभव कस्तो रह्यो ?
भिडियो छायांकनका लागि गीतकी गायिका ज्योतिका तङ्ग्री, निर्देशक स्वप्निल जैसवाल, निर्माता राजन जैन मुम्बईबाट काठमाडौं आउनुभएको थियो । ठमेलको फरेन हाइट क्लबमा भएको छायांकनको अनुभव सुखद नै रह्यो । नेपाली म्युजिक भिडियो निर्माण गर्ने शैली र हिन्दी गीतको भिडियो निर्माण शैलीमा मैले खासै भिन्नता देखिनँ । प्राविधिकहरू नेपाली नै भएकाले पनि त्यस्तो लागेको हुन सक्छ ।
भिडियोका लागि कसरी प्रस्ताव पाउनुभयो ?
कोरियोग्राफर कृष्ण रसालले मेरा तस्बिर जी टिभीको प्रोडक्सनलाई पठाइदिनुभएको रहेछ । उहाँहरूले भिडियोका लागि मलाई छनोट गरिसकेपछि मात्र मैले त्यो कुराको जानकारी पाएँ ।
भिडियो छायांकनका लागि जीटिभीले काठमाडौं नै रोज्ने कारण के रहेछ ?
काठमाडौंको लोकेशन मन परेर हो कि ? उहाँहरूले थप दुई वटा म्युजिक भिडियो पनि नेपालमै छायांकन गर्ने बताइरहनुभएको थियो ।
पारिश्रमिकमा केही भिन्नता पाउनुभयो ?
नेपाली गीतको म्युजिक भिडियोको तुलनामा हिन्दी गीतको पारिश्रमिक निकै राम्रो हुने रहेछ ।
मुम्बईबाट अलि ठूलै प्रोजेक्टका लागि प्रस्ताव आयो भने ?
राम्रो प्रोजेक्टबाट प्रस्ताव आयो भने म मुम्बई जान तयार छु ।
तपाईंको मुम्बईमा कुनै कनेक्सन छ कि ?
त्यस्तो ठूलो कनेक्सन त छैन, यद्यपि अस्ति त्यही भिडियोको छायांकनका क्रममा उक्त गीतकी गायिका ज्योतिकासँग राम्रो मित्रता गाँसिएको छ । उनले मुम्बई पुगेर मेरा लागि उपयुक्त प्रोजेक्ट आयो भने पहल गर्छु भनेकी छिन् ।
प्रसंग बदलौं, तपाईं अभिनय क्षेत्रमा आएको कति भयो ?
ठ्याक्कै दुई वर्ष भयो ।
यो अवधिमा के–के गर्नुभयो ?
एक सयवटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरें । आधा दर्जनजति टिभिसीमा मोडलिङ गरें । थुप्रै र्याम्प शोमा क्याटवाक पनि गरेकी छु ।
तपाईंको पहिलो भिडियो कुन थियो ?
गायिका मेलिना राईको खाएको कसम.. गीतको म्युजिक भिडियो ।
मन परेको आफ्नै म्युजिक भिडियो ?
अघिल्लो वर्ष सार्वजनिक भएको भ्रूण हत्यामा आधारित निशान घिमिरेद्वारा निर्देशित डन्ट किल मि...गीतको म्युजिक भिडियो उत्कृष्ट लाग्छ । उक्त भिडियोबाट म पुरस्कृत समेत भएकी छु ।
अब चलचित्रमा जम्प गर्ने बेला भएन र ?
भैसक्यो नि...चाँडै नै जम्प गर्दैछु । थुप्रै चलचित्रबाट प्रस्ताव आइरहेका छन्, तर म उत्कृष्ट भूमिकाको खोजीमा भएकीले पदार्पण गर्न समय लागेको हो ।
आफूलाई कत्तिको राम्री लाग्छ ?
आफैंले आफैंलाई राम्री छु भन्न मिल्दैन । म ठीकै छु ।
साथीभाइले सृष्टिको के राम्रो भन्छन् ?
अधिकांशलाई मेरो स्माइल राम्रो लाग्छ ।
फुर्सदमा के गर्नु हुन्छ ?
म ट्राभल लभर हुँ । फुर्सद भयो कि घुम्न निस्कन्छु ।