साप्ताहिक संवाददाता
नेपालको संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण अझै सकिएको छैन, पर्सि आइतबार एउटा
ट्वान्टी–२० खेल बाँकी नै छ । त्योभन्दा अघि नेपालका लागि एकदिवसीय श्रृंखला भने ऐतिहासिक रह्यो । लगभग १० महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई एकदिवसीय टिमको मान्यता प्रदान गरेको थियो । त्यसयता नेपालको यो यूएई भ्रमण दोस्रो श्रृंखला मात्र थियो । पहिलो श्रृंखला नेदल्यान्ड्सविरुद्ध थियो र त्यो बराबरीमा टुंगिएको थियो ।
यसपटक फेरि नेपाल विदेशी भूमिमै खेलिरहेको थियो, तीन एकदिवसीय श्रृंखला । यस्तैमा नेपाल विजयी रह्यो, २–१ ले । त्यसैले यो नेपाली क्रिकेटका लागि निकै ठूलो ऐतिहासिक श्रृंखला सावित भयो । नेपालले पहिलो खेल गुमाएर पनि श्रृंखला जितेको हो । पहिलो खेलमा नेपालको ब्याटिङ वास्तवमै कमजोर थियो । सबैले टिमको आलोचना मात्र गरे अनि भन्न थाले— नेपालले यो श्रृंखला गुमाउन बेर छैन र त्यसको कारण हुनेछ, त्यही कमजोर ब्याटिङ ।
यद्यपि नेपालले सबै आलोचनाको सटिक उत्तर दिंदै दोस्रो एकदिवसीयमा आफ्नो ब्याटिङमा सुधार ल्यायो । तेस्रो एकदिवसीय त नेपालको मजबुत ब्याटिङकै लागि सम्झिइनेछ । धेरै पछिसम्म नेपालले यो तेस्रो एकदिवसीयलाई सम्झिरहनेछ, किनभने यसका अनेकौं आयाम छन् । यो ठूलो खेलमा एकपछि अर्को कीर्तिमान नै कीर्तिमान बने अर्थात् कम्तीमा आठ कीर्तिमान, भविष्यमा यो खेलको चर्चा फेरि दोहोर्याएर हुने पक्का छ ।
केही कीर्तिमान यस्ता छन्— पहिलो एकदिवसीय श्रृंखला जित, कप्तान पारस खड्काको पहिलो शतक, पारसकै अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर, एकदिवसीयमा सबैभन्दा ठूलो स्कोर, दोस्रो पटक ब्याटिङ गर्दै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको, एकै इनिङ्समा सबैभन्दा बढी रन । हुँदा–हुँदा एकै इनिङ्समा सबैभन्दा बढी चौका । यीमध्ये धेरै कीर्तिमान पछि तोडिँदै जानेछन् । कतिपय कीर्तिमान सजिलै पनि टुट्नेछन्, तर पारसको पहिलो शतक सधैं सबैको मनमा रहनेछ ।
पारसले राखेको वचन
दोस्रो एकदिवसीय खेल जितेपछि पारससामु राखिएको प्रश्न थियो— अब नेपालको पहिलो शतक कहिले सम्भव हुनेछ ? उनले दुईपटक विचार गरेनन् र उत्तर दिइहाले, निकै चाँडै । रोहितकुमार पौडेलको कीर्तिमानी अर्धशतकको पृष्ठभूमिमा पारससमक्ष यो प्रश्न राखिएको थियो । उनको दाबी जस्तै थियो, निकै चाँडै नेपालका कुनै न कुनै ब्याट्सम्यानले एकदिवसीय क्रिकेटमा शतक बनाइहाल्नेछन्, तर मीठो संयोग कस्तो भने उक्त उपलब्धि हात पार्ने ब्याट्सम्यान अरू कोही होइन, स्वयं पारस नै रहे ।
त्यो पनि धेरै खेल पछाडि होइन, लगतैको खेलमा । खेल मात्र होइन, नेपालले श्रृंखला नै जितका लागि २ सय ५५ रनको लक्ष्य पछ्याइहेको थियो । यो गाह्रो लक्ष्य थियो र यसलाई सफलतापूर्वक पछ्याउने हो भने कसै न कसैले ठूलो इनिङ्स खेल्नु आवश्यक पनि थियो । पारसले यही भूमिका निर्वाह गरे र त्यो वास्तवमै कप्तानी इनिङ्स थियो । उनले १ सय १५ रन बनाए । त्यसका लागि उनले १ सय ९ बल मात्र सामना गरेका थिए ।
यो श्रृंखला जितपछि नेपालले औचापरिक रूपमा आईसीसीको एकदिवसीय वरीयतामा पनि प्रवेश पाएको छ । नेपाल वरीयताको १५ औं स्थानमा छ । यसको अर्थ एक प्रकारले एकदिवसीय खेल्ने विश्वकै १५ देशभित्र अब नेपाल पनि छ । अब विदेशी भूमिमा खेलिएका दुई श्रृंखलापछि सबैको नजर हुनेछ, कहिले आफ्नै घरमा नेपालले पहिलो एकदिवसीय खेल्नेछ ? पारसकै भाषामा, सबै यसकै पखाईमा छन् । नेपालको पछिल्लो प्रदर्शन हेरेर आईसीसीले घरेलु श्रृंखलाको अवसर प्रदान गर्नेछ ।
रोहितको उपलब्धि
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एउटा ट्विटले नेपालमा तहल्का नै मच्चायो । जति बेलासम्म यो ट्विट आएको थिएन, धेरैले त्यसको हेक्कासमेत राखेका थिएनन् । रोहितले यूएईविरुद्धको दोस्रो एकदिवसीयका क्रममा ५५ रन बनाएका थिए । यसका लागि उनले ५८ बलको सामना गरेका थिए । दोस्रो एकदिवसीयमा नेपालले प्राप्त गरेको जितमा उनको त्यो सानदार प्रदर्शन धेरै हदसम्म निर्णायक जस्तै रह्यो । उनी आफैं उक्त प्रदर्शनमा खुसी त हुने नै भए ।
यद्यपि उनलाई पनि थाहा थिएन, उनी एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बन्दै छन् । जति बेला उनी दोस्रो एकदिवसीय खेलिरहेका थिए, त्यति बेला उनी १६ वर्ष १ सय ४६ दिनका थिए । केही समयको अन्तरमा आईसीसीले ट्विटबाट उनलाई बधाई दिइहाल्यो । यो कीर्तिमान यसअघि पाकिस्तानका साहिद अफ्रिदीको नाममा थियो । त्यसभन्दा अघि भारतका सचिन तेन्दुलकरले पनि यस्तै प्रदर्शन गरेका थिए, तेन्दुलकरको कीर्तिमान टेस्ट क्रिकेटका लागि थियो ।
परासीका हुन्— रोहित । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुमा पहिलो पटक उनी नेपाली टिममा परेका हुन् । उनले त्यति बेला केन्याविरुद्ध पनि निर्णायक ४७ रनको प्रदर्शन गरेका थिए । रोहितका बुबा भारतीय सेनामा थिए, त्यसैले उनले क्रिकेटको प्रारम्भिक ज्ञान भारतमै प्राप्त गरे, तर त्यो सुरुवात मात्र थियो, त्यसलाई तिखार्ने काम भने नेपाल आएपछि भयो । उनलाई यहाँसम्म ल्याउन बालुवाटार क्रिकेट एकेडेमीको पनि ठूलो भूमिका छ ।