साप्ताहिक संवाददाता
पूर्वमा
ताप्लेजुङको सदरमुकाम फुङलिङ हुँदै पाथिभरा मन्दिरसम्मको यात्रा सम्भावित हिउँ पर्ने स्थान हो । त्यहाँ यातायातका साथै खाने तथा बस्ने होटलहरू सहज रूपमा उपलब्ध हुन्छन् । भर्खरै धनकुटाको भेडेटारदेखि पाथीभरासम्मको हेलिकप्टर यात्रा पनि प्रारम्भ भएको छ । हिउँसँग खेल्न जान सकिने पूर्वको अर्को स्थान धनकुटाको भेडेटार, हिले सिधुवा हुँदै तेह्रथुमको तिनजुरे मिल्के जलजले क्षेत्र पनि हो ।
काठमाडौं वरपर
राजधानी तथा राजधानीवरपर अनि प्रदेश नम्बर २ को पश्चिमी क्षेत्रका हिउँ पारखीहरूका लागि प्रख्यात हिउँ पर्ने स्थान हो— दामन । दक्षिणतिर हेटौंडा हुँदै दामन आउने यातायातका साधनहरू पाइन्छन् भने उत्तरतर्फबाट काठमाडौंबाट धादिङको नौबीसे हुँदै त्यहाँ पुग्न सकिन्छ । त्यहाँ खाने–बस्ने राम्रा होटल तथा रिसोर्टहरू उपलब्ध हुन्छन् । दामन पुग्न नभ्याउनेहरूका लागि काठमाडौं वरपरका फुलचोकी, चन्द्रागिरि तथा नगरकोटका डाँडामा कहिलेकाहीं पर्ने हिउँले पनि मनोरन्जन प्रदान गर्छन् । यही प्रदेशमा हिउँ खेल्न जाने प्रसिद्ध स्थानका रूपमा चरिकोटको कालिन्चोक, सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रलाई पनि लिइन्छ ।
पश्चिम
पश्चिम क्षेत्रमा कास्कीका अग्ला डाँडाहरू, गुल्मीको रेसुङ्गा, बाग्लुङको ढोरपाटन क्षेत्रमा पनि हिउँद मौसममा हिउँ पर्छ । यातायातको सहज सुविधा नहुँदा ती क्षेत्रमा हिउँ पारखीहरूको त्यति ध्यान पुग्दैन । पश्चिमी क्षेत्रका खप्तड, रामारोशन, बाजुराको बूढीगंगा, बझाङको बित्थड, श्रीभावर, ढाल्यामोड मुस्या पनि हिउँ पर्ने चर्चित
स्थान हुन् ।