साप्ताहिक संवाददाता
कवि विकास थापाद्वारा रचित ‘बुझ्नै सकिनँ आज तिमीलाई’ कविताको सिनेमाटिक भिडियो निर्माण भएको छ । विश्व साहित्यको इतिहास हेर्ने हो भने पनि कवितालाई दृश्यमा रुपान्तरण गरिएको सन्दर्भ यदाकदा भेट्न सकिन्छ, अझ नेपाली कविता साहित्यमा त यो अत्यन्त नवीन प्रयोग हो ।
चलचित्र निर्देशनको औपचारिक अध्ययन गरेका हेमप्रभासले उक्त कविताको सिनेमाटिक भिडियो निर्माण गरेका हुन् । उनी भन्छन्, ‘कविता जीवनको मन्त्र जस्तो लाग्छ । कविताप्रति प्रेम छ । कविताको श्रीवृद्धि होस् चाहन्छौँ । राम्रा कवितालाई डिजिटल प्रविधिमा लैजाने प्रयास हो, गर्दै जानेछौँ ।’
सिनेमाटिक कविताको निर्माण प्रक्रिया आफ्नै खालको छ । सन् १९२० ताका फ्रेन्च इम्प्रेसनिज्मका Germaine Dulac, Man Ray, Hans Richter आदिले चलाएको पोयट्री फिल्म जनरालाई यसको वीज मान्न सकिन्छ । यद्यपि, ती ड्रामाटिक थिए । दृश्य र आवाजको फ्युजन गराएर यसको स्तरोन्नतिमा Lawrence Ferlinghettif को योगदान उल्लेख्य देखिन्छ ।
समयक्रमका सिलसिलामा एउटा सभ्य र सुसंस्कृत समाजबाट आफ्नो संस्कृतिको विस्तृतीकरणका लागि थुप्रै भिडियो पोयट्रीहरु बन्दै आएका छन् ।
त्यसैलाई थोरै परिमार्जन गरेर सिनेमाटिक पोयट्री बनाउन सके अझ सुन्दर हुन्थ्यो कि भन्ने अभिप्रायले यस किसिमको सिनेमाटिक भिडियो पोयट्री निर्माणमा अघि बढेको निर्देशक हेमप्रभास बताउँछन् । उनी भन्छन्, ‘यसपटक हामीले प्रस्तुति शिल्पसज्जा, साउन्ड डिजाइनिङ, म्यूजिक कम्पोजिसन, मिक्सिङ, एडिटिङ, फ्रेमको एस्पेक्ट रेसिओ, स्क्रिन डिरेक्सन र सिनेमाटोग्राफी सबै कोणबाट यसलाई सिनेमाटिक पोयट्री बनाउने कोसिस गरेका छौँ ।
वल्र्ड कभर मिडियाबाट पोष्ट प्रोडक्सन गरिएको नेपालकै पहिलो यस सिनेमाटिक पोयट्रीमा पुष्पल खड्का र वर्षा सिवाकोटीले अभिनय गरेका छन् ।
बुझ्नै सकिनँ आज तिमीलाईको भिडियो :