अभिनेत्री वर्षा राउत तथा अभिनेता संजोग कोइराला विवाह वन्धनमा बाँधिने पक्का भएपछि उनीहरूलाई बधाई दिनेहरूको ओइरो लागेको छ । सामाजिक सञ्जालमार्फत उनीहरूले आगामी भ्यालेन्टाइन डेको दिन विवाह गर्ने घोषणा गरेका हुन् । उनीहरूको घोषणाअनुसार अबको दुई साताभित्रै उनीहरू औपचारिक रुपमा श्रीमान्–श्रीमती बनिसक्नेछन् ।
लामो समयदेखि प्रेममा रहेको यो जोडीले अघिल्लो सोमबार सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरूलाई सरप्राइज दिँदै विवाहको निमन्त्रणका कार्ड नै सेयर गर्यो । कार्डमा उनीहरूले आफ्नो जोडीलाई आशीर्वाद दिनसमेत आग्रह गरेका छन् ।
उक्त कार्डमा प्रेम दिवसकै दिन आफूहरूले विवाह गर्न लागेको कुरा उल्लेख छ । उनीहरू केही महिनायता विवाहकै तयारीमा छन् । यसबीच साप्ताहिकको आग्रहमा संजोगले आफ्नी हुनेवाली श्रीमती वर्षाको सकारात्मक तथा नकारात्मक पक्ष यसरी उल्लेख गरेका छन् ।
सकारात्मक पक्ष
उनको रहनसहन साधारण छ, अनि आनीबानी पनि साधारण नै छ । वर्षा स–साना कुरामै खुसी खोज्छिन् ।
मिलनसार छिन् । जोसंग पनि एकैछिनमा मिल्न सक्छिन् ।
रिस, इगो पालिरहन्नन्, बिर्सिहाल्छिन् ।
ठूलालाई आदर अनि सानालाई माया गर्न जानेकी छिन्, घमन्ड पटक्कै गर्दिनन् ।
हँसिली छिन् । जहिले जे जस्तो भए पनि हाँसिरहन्छिन् । उनलाई देख्ने बित्तिकै मेरा सबै समस्या आफैं समाधान हुन्छन् भन्ने आभाष हुन्छ ।
नकारात्मक पक्ष
फुर्सदको सदुपयोग गर्दिनन्, एकदमै अल्छी छिन् ।
उपन्यास, फिक्सन, नन–फिक्सन आदि कुनै पनि पुस्तक पढ्दिनन् ।
टेलिभिजन कार्यक्रम, यूट्युबमा म्युजिक भिडियो तथा चलचित्र एकदमै धेरै हेर्छिन् ।
मोबाइलमा बढी समय खर्च गर्छिन् ।
संयम भन्ने कुरा छँदै छैन । हरेक कुरामा उनको पहिलो प्रतिक्रिया धेरै नै लाउड हुन्छ । रिसाउँदा अति नै रिसाउने, हाँस्दा अझ ठूलो स्वरले हाँस्ने हुन्छ उनको फस्ट रियाक्सन ।