साप्ताहिक संवाददाता
मलाई त आजभोलिको प्रेम ब्याइलर कुखुराजस्तै लाग्छ ।
जितु नेपाल, हास्य अभिनेता
आधुनिक युगको सहरी प्रेम एकदमै स्वार्थी र प्रदूषित छ ।
बद्री पंगेनी, गायक
आधुनिक युगको सहरी प्रेम एकदमै बनावटी छ, किनभने यहाँ कसको प्रेम कतिबेला टुट्छ भन्ने भरोसा हुँदैन ।
राधिका हमाल, गायिका
अहिलेको आधुनिक सहरमा माया–प्रेम भन्ने कुरा नै कहाँ छ र ? पहिले–पहिले चलचित्र हल अनि सिमलको रूखमुनि डेटिङ हुन्थ्यो, तर अहिले त पहिलो डेटिङ नै गेस्ट हाउसमा हुन्छ, अनि कहाँ छ र प्रेम ?
शंकर बिसी, निर्देशक तथा मोडल
मानिसअनुसार सोच पनि फरक–फरक हुन्छ । मेरो विचारमा कसैको प्रेम गर्ने शैली मिजासिलो र मीठो हुन्छ । अहिले सहरमा गरिने आधुनिक शैलीको प्रेममा धेरै प्रकारका विकृति छन् । मायाभन्दा पनि स्वार्थ बढी छ ।
शान थापा, निर्देशक
जस्तो आँगन उस्तै नाच भन्ने उखान छ नि ! हो, अहिलेको आधुनिक युगको सहरी प्रेमको ढाँचा पनि त्यस्तै खालको छ ।
कुलेन्द्र विश्वकर्मा, गायक
आधुनिक युगको सहरी प्रेम डेरावाल र घरबेटीको सम्बन्धजस्तो छ । हरेक १ गते माया–प्रेम रिन्यु गर्नुपर्छ । बहाल तिर्न नसकेको अर्को दिन अर्को बहालवाला आएर कोठामा बसिहाल्छ ।
लोकराज अधिकारी, गीतकार
आधुनिक युगको सहरी प्रेम मलाई राम्रै लाग्छ । किनभने केटाकेटी दुवैले एक–अर्कालाई चिन्ने मौका पाउँछन् । यसरी दुवैले एक–अर्कालाई बुझेर केही समयसँगै बिताइसकेपछि मात्र विवाह गर्ने निर्णयमा पुग्छन्, जसले गर्दा विवाहपछिको सम्बन्ध पनि सहज ढंगले अघि बढ्छ । जस्तो पछिल्लो समय लिभिङ टुगेदरमा बस्ने चलन पनि छ । त्यस्तै, डिभोर्सपछि पनि ब्रेकअप पार्टी मनाउने ट्रेन्डसमेत आएको छ, यो भनेको एकले अर्कालाई सम्मान गरेजस्तै हो, जसलाई कुनै रिस राग नभएको भन्नुपर्छ ।
किरण आचार्य, व्यवसायी
आधुनिक युगको सहरी प्रेम मलाई खासै राम्रो लाग्दैन, किनभने कतिबेला माया बस्यो अनि कतिबेला टुट्यो पत्तो हुँदैन । गाउँको जस्तो निश्चल माया त सहरमा कहाँ पाइन्छ र ?
श्रीदेव भट्टराई, अभिनेता
प्रेम शब्द आफैंमा निश्चल र पवित्र छ । यसलाई कसरी बुझ्ने र व्यवहार गर्ने आफैंमा भर पर्ने कुरा हो । प्रेम छिनमै ओइलिएर जाने पारिजातजस्तो होइन । माया भनेको त कहिल्यै नओइलाउने र नसुक्ने मखमली फूल हो । सहरी प्रेम कामवासनाले प्रेरित क्षणिक आकर्षणमा परिणत हुँदै गएको छ । यसले दुई अक्षरको पवित्र प्रेम शब्दकै उपहास गरिरहेको छ । दुई आत्माको चोखो मिलनलाई बुझ्न नसक्ने मदमत्त जोडीहरूको कामवासना नै सहरी प्रेमजस्तो भएको छ ।
सुनिता दुलाल, गायिका
माया भनेको माया नै हो । त्यो आधुनिक सहरको होस् वा गाउँको । हामीले मायाको सम्मान गर्न सक्नुपर्छ । त्यसैले आधुनिक प्रेमलाई हेरेर प्रेमको मूल्याङ्कन गर्न मिल्छ जस्तो लाग्दैन ।
सञ्चिता लुइँटेल, अभिनेत्री
मैले बुझेको आधुनिक सहरी प्रेममा प्रेम कम, स्वार्थ बढी हुन्छ ।
धीरज राई, गायक
हिन्दी सिनेमालाई आधार मानेर जोडी खोज्ने चलनले हामीलाई एकदमै अस्तव्यस्त बनाएको छ । सबैले सिनेमामा देखिएजस्तै खोज्छन् । केही समय दुवै साँच्चिकै हिरो–हिरोइनझैं चरित्रमा रहन्छन्, अनि केही समयपछि एक–अर्कालाई लाञ्छना लगाउँदै टाढिन्छन् । अपरिपक्व उमेरमै सम्बन्धमा रहने हुनाले पनि यस्ता घटनाले तीव्रता लिएको पाइन्छ ।
रोहित मल्ल, मोटिभेटर
हतारमा मिलन अनि हतारमै बिछोड हुन्छ । सहरी मानिसको दैनिकीजस्तै व्यस्त छ प्रेम पनि ।
दिपेन्द्र लामा, निर्देशक
नराम्रोचाहिँ लाग्दैन । मन–मुटु उस्तै भए पनि फास्ट फुडे परिवेशले सहरी मायालाई नन–अर्गानिकचाहिँ बनाएजस्तो लाग्छ ।
हेमन्त शर्मा, गायक
प्रेम पवित्र छ तर प्रेमप्रतिको बुझाइमा कमी आएकाले आधुनिक युगको प्रेममा विकृति देखा पर्न थालेको छ ।
राजाराम गौतम, रंगकर्मी
समयसँगै हरेक कुरामा परिवर्तन आउनु स्वभाविक हो, तर अहिले क्षणिक रङ्ग–रस अनि स्वार्थ भरिएको माया–प्रेमले वास्तविक माया गर्नेहरूलाई असर गरेको छ । त्यसैले संसारमा जति पनि परिवर्तन होस् । आफ्नो धर्म–संस्कार एवं रीतिरिवाज भुल्नु हुँदैन । समग्रमा भन्नुपर्दा पुराना कुरीतिको पनि अन्त्य होस् अनि आधुनिक युगको माया–प्रेम पनि अलि अनुशासित होस् ।
याम क्षेत्री गायक
पछिल्लो समयको प्रेमसम्बन्ध छोटो समयमा टुट्छ । सम्बन्ध टुट्नु पक्कै राम्रो कुरा होइन, तर एक–अर्कासँग कन्फर्टेबल हुँदैन भने जबर्जस्ती सँगै बस्नु पनि उपयुक्त होइन ।
इष्टु कार्की, रंगकर्मी
आधुनिक युगको सहरी प्रेममा पनि प्रेम त हुन्छ, तर त्यो प्रेममा आ–आफ्नो स्वार्थ घुसेको हुन्छ ।
विशाल ढकाल, संगीतकार
सहरिया मायाप्रेम देखावटी, स्वार्थी अनि पैसा र मोजमस्तीका लागि हो कि जस्तो लाग्छ ।
नवीन पौडेल, गायक
सबैलाई त भन्दिनँ, तर धेरैजसो हतारमा प्रेम गर्ने अनि फुर्सदमा पछुताउने खालका छन् ।
सुशीला गौतम, गायिका
अहिलेको प्रेम निकै आधुनिक भैसकेको छ । अहिले बढी स्वतन्त्रता छ, पहिले–पहिलेको जस्तो प्रेमी–प्रेमिकालाई भेट्न झ्यालबाट भाग्नुपर्ने अवस्था छैन । अहिले सामाजिक सञ्जालले गर्दा धेरै सजिलो भएको छ । पहिले प्रेमी–प्रेमिकाले कुराकानी गर्न ल्यान्डलाइन फोन ढुकेर बस्नुपथ्र्यो अनि आफ्नो प्रेमी अथवा प्रेमी हिँड्ने गल्लीसँग प्रेम हुन्थ्यो, तर अहिलेको आधुनिक युगको प्रेम गर्ने शैली बिल्कुलै फरक छ ।
आर्जन पाण्डे, गायक
प्रेम आफैंमा प्रेम हो । यसलाई जित्ने अरू कुनै चिज छैन । त्यसैले म प्रेमका बारेमा कुनै डिबेट गर्दिनँ ।
शिव परियार, गायक
मलाई त एकदम ठीक लाग्छ, किनभने यो प्रेमी–प्रेमिकाका लागि समय र विकासले दिएको वरदान हो ।
दिलीप रायामाझी, अभिनेता
सामाजिक सञ्जालको प्रभावमा कलिलै उमेरमा केटाकेटीबीच प्रेम हुनु विकृति हो । उमेर पुगेकाहरूको पनि बिजोगै छ, पिंजडाभित्र सुगाको प्रेमजस्तो । अर्को कुरा, ठाउँ न ठहर बूढीको रहर भनेजस्तो । यसो बिजुलीको पोलमुनि छायाँ मिलाएर गफ गर्नुपर्या छ, गन्हाउने खोलाको छेउमा डेटिङ बस्या छन्, लभ पर्नुभन्दा पहिले रुघा लाग्ला भन्ने डर । रेस्टुराँको टेबलमा बसेर चाप्पचुप्प गरेका छन्, अनि पल्लो टेबलमा बसेको मान्छेले नदेखेजस्तो गरिदिनुपर्या छ । धन्न बेलैमा जुकरबर्ग जन्मिएछन् र हिजोआजका युवायुवतीलाई केही सहज भएको छ ।
केदार घिमिरे, अभिनेता