साप्ताहिक संवाददाता
नेपाली नृत्य कलाकार तथा कोरियोग्राफर सुजन मार्फा तामाङले स्टार प्लसबाट प्रसारित नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस–४’ मा दोस्रो स्थान हासिल गरेका छन् । सुजन गत आइतबारै स्वदेश फर्किएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सुजनले नेपाल र नेपालीलाई गौरवान्वित गर्न सफल भएकोमा खुसी लागेको बताए । नेपाली ढाका टोपीमा सजिएका सुजनले हँसिलो मुद्रामा भने, ‘नेपाललाई गौरवशाली बनाउने धेरै पहिलेदेखिको सपना थियो, त्यो सपना पूरा भएकोमा खुसी लागेको छ ।’ भारतजस्तो ठूलो देशमा एउटा नेपाली कलाकारले दोस्रो स्थान हासिल गरेर फर्कनु पनि ठूलै उपलब्धि हो, सुजनले बताए ।
सुजनका अनुसार उनीहरूले दोस्रो स्थान हासिल गरेपछि प्रशंसकहरूको धेरैभन्दा धेरै शुभकामना सन्देश तथा फोन कलहरू प्राप्त गरे । ‘अधिकांशले आँचल र मेरो जोडी नै डिजर्भिङ थियो भन्नुभएको छ, सुजन भन्छन्– ‘दर्शकको मन जित्न सफल भएकोमा अत्यन्त खुसी छु ।’ प्रतियोगिताका क्रममा सुजन करिब ६ महिना भारत बसेका थिए । मुम्बईमा अभ्यास गर्दा कठोर मेहनत गर्नुपरेकाले आफ्नो तौल घटेको सुजनले बताए ।
समग्रमा डान्स प्लस–४ प्रतियोगिता निकै टफ भएको तामाङ बताउँछन् । सबैभन्दा धेरै ब्याटल आफैंले जितेकोमा उनी थप खुसी छन् । ‘प्रतियोगितामा व्यस्त रहँदा परिवार तथा साथीभाइहरूलाई फोन गर्न नपाएकोमा दु:ख लागेको छ,’ तामाङ भन्छन्– ‘यद्यपि नेपालबाट जाने सन्देशहरूले मलाई सधैं खुसी र उत्साही बनाइरहन्थे ।’
सुजनले अब नेपालमै डान्सिङ करियर बनाउने कुरा बताएका छन् । अब म नेपालमै केही गर्न चाहन्छु भन्दै सुजनले नेपाली चलचित्रमा कोरियोग्राफीमार्फत नेपालकै उत्कृष्ट चलचित्र कोरियोग्राफर बन्ने लक्ष्य लिएको जानकारी दिए । यसका साथै उनले वल्र्ड अफ डान्स (डब्लूएफडी) मा नेपालको प्रतिनिधित्व गर्ने आफ्नो रहर लुकाएनन् ।
प्रतियोगिताको ग्रान्ड फिनालेमा सुजन र आँचलसहित बर्तिका झा, भी अनबिटेबल तथा चेतन सालुंखेबीच कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा टिम पुनितबाटै प्रतिनिधित्व गर्ने पुणेका चेतन सालुंखेले डान्स प्लस–४ को उपाधि जितेका थिए भने बर्तिका झाले सेकेन्ड रनर्सअप तथा भी अनबिटेबलले थर्ड रनर्सअपको उपाधि जिते थिए । फाइनल प्रतिस्पर्धाको निर्णयमा जजहरूका साथै पब्लिक भोटको पनि महत्वपूर्ण भूमिका थियो जसमा मराठी भाषी चेतनले बाजी मारेका थिए ।