जनतालाई हँसाएर मनोरन्जन दिने हास्य–कलाकारको आफ्नै जीवनमा कति हाँसो हुन्छ ? यो अहिलेसम्म कसैले थाहा नपाएको तथ्य हो तर कलाकारको जीवन हामीले सोचेको भन्दा निकै मत्थर हुन्छ । हाइफाई केही हुँदैन । फुर्तीफार्ती पनि खासै हुँदैन । बाहिर सेलिब्रेटीको हैसियतमा रहेका कलाकारमा बढी असन्तोष हुन्छ । कतिपय अवस्थामा जनताले रुचाउने अभिनय गर्न कठिन हुन्छ । जनताले रुचाउने अभिनय नगर्ने हो भने शिखरमा टिकिरहन मुस्किल हुन्छ । जनताले आफ्नो माग निरन्तर जारी राख्छन् ।
कतिपय अवस्थामा त त्यो माग पूरा गर्न निकै गार्हो पर्छ कलाकारलाई । जितु नेपालका समस्या पनि यिनै हुन । उनको सधैंको हुटहुटी हुन्छ– कसरी सन्तुष्ट बनाउने दर्शकलाई ? कसरी रिझाउने जनतालाई ?
जितु भन्छन् : अहिलेसम्मका लागि जनतालाई खुसी राखेको छु । मुन्द्रेको हास्यबोध र अभिनयको प्रशंसा गरेका छन् मानिसले । नभए कसरी टिक्थ्यो र मुन्द्रे ? राजनीतिमा भएको भए त उहिले नै फ्लप हानिसकेको हुने थिएँ । हास्य कलामा भएकाले अहिलेसम्म टिकेको छु । जनता र दर्शकको आशीर्वाद पाएको छु, खुसी छु ।
‘अहिलेको अवस्था पनि राम्रो छ । सरकार र हास्यव्यंग्यको अवस्था उस्तै छ । देशमा दुवैको बहुमत स्थापित छ । सरकार र हास्यव्यंग्यकाबीच रोज्नुपर्यो भने जनताले पक्कै हास्यव्यंग्य रोज्छन् । सरकारले देखाउने हास्यव्यंग्यको क्वालिटी र हामीले देखाउने हास्यव्यंग्यको क्वालिटीमा आकाश र जमिनको अन्तर छ,’ जितुको भनाइ छ ।
जितु बेलाबेलामा विदेशतिर हान्निइरहेका हुन्छन् । यो अन्तर्वार्तापछि उनी दुबई उड्दै थिए । यो हिसाबले त निकै आम्दानी हुने रहेछ हास्यकलाकारहरूको । जितुको भनाइ थियो, ‘सबै टल्किने वस्तु सुन हुँदैनन् । मनोरन्जन पनि उद्योग हो । उद्योगको सफलताका लागि चाहिन्छ राम्रो लगानी । अहिले म नेपाल वायुसेवा निगमको सद्भावना दूत छु । त्यसबापत मलाई वर्षको चारवटा टिकट प्राप्त हुन्छ । त्यही टिकटे उपयोग गरी बेला–बेलामा कतार, दुबइ आउने जाने हो । बेला बेलामा हुने विशिष्ट समारोहमा त आयोजकले नै टिकट दिइहाल्छन् ।
नेपालमा किन सबै कमेडी उस्तै हुन्छन् ? हास्य कलाकारहरूमा केही मौलिक गरौं भन्ने नभएर नै हो ? जितु यो कुरा मान्दैनन् । उनी भन्छन्, अभिव्यक्तिको शैली फरक छ सबैको । परिस्थिति अनुसार, कलाकारहरू आफ्नो बोली बदल्छन् । विचार बदल्दैनन् । कलाकारहरूमा टाइमिङ सेन्स पर्फेक्ट छ । त्यसैले भन्न सकिन्छ, नेपाली हास्य कलाकारहरू कलात्मक मर्यादाबाट पन्छिएका छैनन् ।
जितुले अहिले संयोजन गरेका छन् कमेडी क्लबको । यो क्लबमा दीपाश्री, राजाराम, उमेश राई, राजेन्द्र नेपाली र स्वयं जितु छन् । कमेडी क्लबलाई मिडिया हबले प्रस्तुत गरिरहेको छ । यसलाई कतिले हेरेका छन् ? हामी कहाँ दर्शक सर्वेक्षणको चलन छैन । यू–ट्युबको तथ्यांकअनुसार यो कार्यक्रम प्रत्येक साता १० लाख मानिसले हेर्छन्, तर नेपालमा जति लाखले हेरे पनि युट्युबले पैसो दिँदैन ।
त्यसैले त्यसको खासै मतलब छैन, तर कार्यक्रम व्यापारिक हिसाबले पक्कै पनि सफल होला । किनभने यसमा ११ मिनेटको एड बज्छ । हामी कलाकारहरूले तात्तातै पैसा पाउँछौं । पछिल्लो समयमा हास्य कलाकारिताबाट खान पुगेको छ । परस्परमा सम्मान भाव बढेको छ । हामी जोकरमात्र होइनौं । हामीमा भद्रता र मानवीय गुण छन् भन्ने स्थापित गरेका छौं ।
कलाकारहरूको कमेडी शो भनेको सातामा एक दिन मात्र हो । हामी त मेला र महोत्सवको आयोजनाले बढी रमाउँछौ । यस्ता मेला र महोत्सवमा उच्चस्तरीय कमेडी, गाउँघर सुहाउँदो कमेडी, कर्पोरेट कमेडी सबै चल्छन् ।
जितुले ११ वर्ष जनतालाई जिरे खुर्सानी चटाएर ब्युँझाए । उनी त्यो समयलाई उपलब्धिमूलक मान्छन् । सिन्धुपाल्चोकमा जन्मिएको एउटा केटो काठमाडौंमा आएर कमेडीमा जम्नु साधारण कुरा थिएन । आईएसम्म पढेका जितु घरमा हँसाउँदैनन् । उनले मांगी विवाह गरेका हुन् । श्रीमतीसँग ठाकठुक पर्नु सामान्य हो । उनले रेडियो–अडियो तथा बीएसबीएफ गोर्खा रेडियोमा पनि काम गरिसकेका छन् ।
देशमा पन्ध्र–सत्रबटा टेलिभिजन च्यानल छन् । ती सबै आपसमा प्रतिस्पर्धा गर्छन् समाचारमा ।
मनोरन्जनमा प्रतिस्पर्धा छैन । भोलि चुनाव आओस् त, नियमित चलिरहेका मनोरञ्जन कार्यक्रमसमेत रोकिन्छन् । सरकारले मनोरञ्जनलाई आफ्नै प्रतिस्पर्धी सोच्छ कि क्या हो, प्राथमिकता दिँदैन । यो हालतमा, तै पनि, मुन्द्रे खुसी छ †