साप्ताहिक संवाददाता
सैफ अली खान तथा करिना कपुर बलिउडका सबैभन्दा लोकप्रिय जोडी हुन् । सैफ यतिबेला चलचित्र तानाजीको तयारीमा व्यस्त छन् भने करीना रेडियो कार्यक्रम ह्वाट वुमन वान्टका कारण चर्चामा छिन् । हालै करिना आफ्नी घनिष्ठ मित्र अमृता अरोरासँग कोमल नाहटाको च्याट शोमा पुगेकी थिइन्, जहाँ करिनाले आफ्ना श्रीमान् सैफ अलीको एउटा विशेष बानीका बारेमा खुलासा गरिन् ।
उनले सैफको कुनचाहिं बानीका कारण उनी सबैभन्दा बढी चिढिन्छिन् भन्ने कुरा खुलासा गरेकी हुन् । करिनाका अनुसार सैफलाई उनीभन्दा बढी प्यारो उनको फुट मसाज छ । जहाँ पुगे पनि सैफलाई फुट मसाज चाहिन्छ । विमान भित्र, विमानस्थलको प्रतीक्षालयमा अर्थात् जहाँ पुगे पनि सैफको पहिलो वाक्य हुन्छ– ‘लौ मेरो खुट्टा दबाइदेऊ त...।’
करिना यतिबेला चलचित्र गुड न्युजको छायांकनमा व्यस्त छिन् । त्यसबाहेक उनी करण जौहरको मल्टि स्टारर चलचित्र तख्तमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दैछिन् । सैफले चाहिँ हालै चलचित्र हन्टरको छायांकन पूरा गरेका छन् भने सेक्रेट गेम्स–२ को छायांकनमा व्यस्त छन् ।