साप्ताहिक संवाददाता
झण्डै डेढ दशकअघि साइबरसंसार डटकमले होली मनाउने शैलीलाई नयाँ मोड दियो । बलिउडका कलाकारको सिको गर्दै साइबरसंसारले लोकप्रिय कलाकारहरूलाई भेला पारेर पहिलो पटक होली मनायो । गीत–संगीत एवं नाचगानसहितको उक्त होली उत्सवले नेपालमा कर्पोरेट होलीको थालनी गरेको चर्चा समेत भयो । त्यसको झण्डै दश वर्षसम्म त्यही शैलीको होली मनाएपछि साइबरसंसार पछिल्ला पाँचदेखि खासै सक्रिय छैन । साइबरसंसारका निर्देशक अनुभव कसजुले कृष्ण भट्टराईसंग कर्पोरेट शैलीको होलीमा केन्द्रित रहेर गरेको कुराकानी :
अभिनव कसजु,
निर्देशक, साइबर संसार डटकम
होली आइसक्यो, के छ तयारी ?
धार्मिक रूपले त होली प्रारम्भ भै नै सक्यो । चार दिनपछि वास्तविक होली खेलिंदैछ । हामी नजिकका साथीभाइबीच मात्र होली खेल्ने योजना छौं ।
तपाईंहरूले नै थालेको सामूहिक होली अचेल खेलाउनु भएको छैन नि ?
अहिले कर्पोरेट र सामुहिक भन्दा पनि कमर्सियल होलीको ट्रेण्ड बढेकाले हामी चुप लागेर बसेका हौं ।
तपाईंहरूले फनि कमर्सियल होली कार्यक्रम आयोजना गर्न सक्नुहुन्छ नि ?
सक्न त सकिन्छ तर त्यस्तो होली कार्यत्रम आयोजना गरेर सेलिब्रेटीहरूलाई धेरै दुःख दिनु हुँदैन भन्ने लागेको छ ।
कसरी ?
अहिले धेरैजसो टेलिभिजन, रेडियो तथा अनलाइन मिडियाहरूले आ–आफ्नै होली कार्यक्रम सञ्चालन गर्छन् । ती कार्यत्रमका आयोजकको मन राख्न पनि सेलिब्रेटीहरूले उनीहरूकहाँ पुग्नै पर्छ । त्यस्ता कार्यक्रममा कलाकारले अनुहार मात्र देखाउन भ्याउँछन्, ढुक्कले बसेर रमाइलो गर्दै खानपिन गर्ने फुर्सद नै हुँदैन । त्यसैले पनि हामीले होली सेलिब्रेसन गर्न छाडेका हौं ।
कमर्सियल होली कार्यक्रमको सकारात्मक तथा नकारात्मक पक्ष के देख्नुहुन्छ ?
त्यस्ता कार्यक्रम आयोजना गर्ने आयोजकहरूलाई आर्थिक रुपले फाइदा हुनु सकारात्मक पक्ष हो । धेरै मानिसलाई एकै ठाउँमा भेला पारेर मनोरञ्जन लिन पाउने अवसर जुटाउनु पनि सकारात्मक पक्ष नै हो । यद्यपि, प्रवेश शूल्क तिरेर भित्र छिरेपछि खाद्य र पेय पदार्थका लागि पुनः पैसा खर्च गर्नु पर्ने बाध्यतात्मक परिस्थितीले चाहिं सहभागीहरूलाई आर्थिक रुपमा मारमा पार्छ ।
यद्यपि तपाईंहरूले प्रारम्भ गर्नु भएको ट्रेण्ड त स्थापित भयो नि ?
स्थापित त भयो तर संख्यात्मक रूपमा धेरै कार्यक्रम भैदिँदा सहभागीहरूको संख्या कम–कम देखिन थालेको छ । यद्यपि, यस्ता कार्यक्रमले सडकमा इच्छाविपरीत होली खेल्ने परम्परामा भने कमि अल्याएको छ ।
भन्नाले अचेलको होली संयमित हुन थालेको हो ?
सरकारले पनि जबर्जस्ती वा इच्छाविपरीत होली खेल्न कडाइ गर्दै आएको छ । यसका साथै कर्पोरेट शैलीमा, टिकट नै बेचेर आयोजना गरिने होली विशेष कार्यक्रममा प्रवेश गर्ने हरेक व्यक्ति होली खेल्ने मुडमै हुन्छ । त्यहाँ जबर्जस्ती भन्ने कुरै हुँदैन । ठाउँ–ठाउँमा त्यसरी अर्गनाइज्ड वेमा कार्यक्रम हुने भएपछि सडकको भीडभाड पनि स्वतः कम भएको छ ।
पहिलो होली कार्यक्रमलाई कसरी सम्झनु हुन्छ ?
हामीले त्यो वर्षको होलीलाई पिकनिक शैलीमा मनाएका थियौं । उक्त जमघट यति रमाइलो र सफल भयो कि साइबरसंसारमा होली मनाइएको तस्बिर अपलोड गरेपछि धेरै जनाले हामीलाई ऊक्त कार्यत्रममा किन नबोलाएको ? भन्दै गुनासोसमेत गरे । हाम्रो उद्देश्य सानो जमघट गरेर होली मनाउनु थियो तर बजारमा त्यो कार्यक्रमले ठूलै चर्चा पायो । फलस्वरूप त्यसपछिका वर्षहरूमा हामीले कर्पोरेट शैलीमै होली मनाउन थाल्यौं ।
दोस्रो वर्षको कार्यक्रम कस्तो रह्यो ?
अर्को वर्ष निम्तालुको संख्या दुई गुणा बढायौं । तेस्रो, चौथो वर्षको होली मनाउने क्रममा हामीले ठूलै पार्टी भेन्यू बुक गर्नु पर्यो । होली मनाउन चाहने सेलिब्रेटीहरूको मनसाय बुझेर हामीले आफ्नै खर्चमा त्यो रमाइलो कार्यक्रम आयोजित गरिरह्यौं ।
अरूले आयोजना गर्ने होली समारोहमा सहभागी हुनुभएको छ ?
केही वर्षअघिसम्म सहभागिता जनाइरहेको थिएँ । अचेल सिमित साथी–भाइसँग होली खेल्न थालेकाले त्यो दिन अन्य कार्यक्रममा सहभागिता जनाउँदिन ।
आज पनि सेलिब्रेटीहरूले साइबरसंसारकै होली खोजिरहेका छन् नि ?
त्यो त हामीले पनि बुझेका छौं । यद्यपि होलीले कर्पोरेट पार्टीको रूपमा लिन थालेपछि अचेल धेरै ठाउँमा यस्ता कार्यक्रम आयोजित हुन्छन् । कतिपय ठाउँमा त टिकट काटेर प्रवेश गर्नुपर्छ । यस्तो अवस्थामा हामीले निम्त्याएका गायक–गायिका तथा अन्य कलाकार हाम्रो जमघटमा लामो समय बस्न नसक्ने भएपछि हामीले होली विशेष जमघट स्थगित गरेका हौं ।
होली कसरी मनाइनु पर्छ जस्तो लाग्छ ?
सडकमा हो–हल्ला गर्दै हिंड्नु भन्दा नजिकका साथीभाइ भेला भएर खानपिन गर्दै, रमाइलो गर्दै, नाचगान गर्दै, एक–अर्कालाई रंग दल्दै प्रेम र सद्भावना बाँडेर खेल्नु उपयुक्त हुन्छ ।