साप्ताहिक संवाददाता
अजितकुमार यादवका रूपमा नेपाली एथलेटिक्सले नयाँ स्टार पाएको छ । १७ वर्षीय यी धावकले हालै तेस्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । ३ हजार मिटर दौडमा उनले हात पारेको स्वर्ण पदक धेरै अर्थमा ऐतिहासिक हो ।
अहिलेसम्म नेपाली खेलकुदमा एसियाली स्तरको यस्तो प्रतियोगितामा कुनै नेपाली खेलाडीले स्वर्ण पदक जितेको नै यो पहिलो अवसर हो । तर उनको स्वर्ण पदकको यात्राले फरक कथा बोल्छ । नेपाली एथलेटिक्समा विवादका कारण उनको सहभागिता नै सुरुमा निश्चित थिएन । बल्लतल्ल उनी दौडको दुई दिनअघि हङकङ पुगे ।
त्यसको भोलिपल्ट उनले राम्रोसँग आराम पनि गर्न पाएनन् । त्यसको पनि अर्को दिन त दौड नै थियो, जसमा उनले स्वर्ण पदक जिते । उनको दाबी छ, आरामले तनावरहित ढंगले प्रतियोगितामा सहभागी हुन पाएको भए, स्वर्ण त निश्चित थियो नै, उनले विश्व कीर्तिमानसमेत बनाउन सक्थे ।