सरोज खनाल अलिकति पैसा कमाएर छोराछोरीको जीवनमा सुधार ल्याउन उता लागेका थिए । उनलाई गएको दिनदेखि नै देशको न्यास्रो लाग्यो । होमसिक । उनी कान्तिपुरको हावा पानी बिग्रेको देखेर अमेरिका लागेका थिए । उनले यो १७ वर्षको अवधिमा धेरै कुरा ‘मिस’ गरे ।
अभिनेता सरोज खनाललाई देख्नेबित्तिकै मेरा ओठहरूबाट शब्द फुक्का भए, ‘ओहो, कस्तो ठ्याक्कै अभिनेता धर्मेन्द्रको शेपमा पो देखिनुभयो त । आराम हुनुहुन्छ ?’ अलिकति म अलमलिएको थिएँ । कतै मैले उनलाई झिझोल्न त झिझोलिनँ ? अप्ठेरो नलागेको होइन । उनले यसलाई खेलको स्पिरिटमा लिए । म खुसी भएँ । सरोज यस्ता कलाकार हुन् जसलाई सही अर्थमा व्यवसायिक कलाकार भन्न सकिन्छ । नेपाली नाटक संसारमा उनको ठूलो योगदान छ । नाट्य कलाको विकासमा उनको भूमिका छ । नेपाली टेलिश्रृङ्खलाहरूमार्फत उनी हरेक परिवारको घरभित्र पसेका छन् । आफनो अभिनयले सबैलाई मोहित तुल्याएका छन् । नाटक, टेलिफिल्म र सिनेमामा काम गर्दागर्दै उनी भविष्य चिन्तनमा लागे । त्यसपछि गए अमेरिका । उनी १७ वर्ष अमेरिका बसेर नेपाल फर्किए । यो १७ वर्षमा नेपालका बारेमा जान्न पर्ने कुरामा उनी सतर्क थिए ।
उनले बिर्सेका केही थिएनन् । बरु सम्झनामा नेपाली जनताले दिएका अपार स्नेह, सम्मान र सौजन्य थिए । उनी देश फर्केर आएपछि जनताले उनलाई उत्तिकै हार्दिकताका साथ स्वागत गरे । उनी अहिले आफनै संसारमा रमाएका छन् । उनी नेपाली धर्तीमा अभिनय कलालाई अझ गतिशील र अझ सिर्जनात्मक बनाउन चाहन्छन् । त्यो उनको मनभित्रको हुटहुटी हो । सरोज गज्जबका कलाकार मात्र होइनन्, सार्है उम्दा मानिस हुन् । निश्चल मनका । झेल र कपटहरूबाट मुक्त ।
१७ वर्षअघि नेपालबाट दुई कलाकार अमेरिका गएका थिए, सांस्कृतिक कार्यक्रमका सन्दर्भमा । अमेरिका भनेपछि सुख समृद्धिका लागि नामै काफी छ भने हुन्छ । ती दुई कलाकारमध्येका एक प्रेमराजा महत उतै छन् । अमेरिकाका लागि नेपालका महावाणिज्य दूतका रूपमा चिनिएका छन् । कलाकार सरोज खनाल फर्किए ।
सरोज खनाल अलिकति पैसा कमाएर छोराछोरीको जीवनमा सुधार ल्याउन उता लागेका थिए । उनलाई गएको दिनदेखि नै देशको न्यास्रो लाग्यो । होमसिक । उनी कान्तिपुरको हावा पानी बिग्रेको देखेर अमेरिका लागेका थिए । उनले यो १७ वर्षको अवधिमा धेरै कुरा ‘मिस’ गरे । हुन त सरोजले नाटक नखेलेर नै अमेरिकामा १७ वर्ष बिताएका होइनन् । उनीहरूले साथीभाई जुटाएर नाटक पनि गरे । त्यहाँ हेर्ने र अभिनय गर्ने दुवै थरीलाई समयको समस्या । अहोरात्र काम हुने देशमा कुन बेला अभिनय गर्नु र कुन बेला नाटक हेर्नु ? साँच्चै पीडाजनक हुन्छ नेपालीको अवस्था ।
नाटकमात्र होइन, सरोजले अमेरिकामा नेपाली सिनेमा पनि बनाए– इष्टमित्र । सिनेमाको निर्माता थिइन् मृदुला कोइराला । नेपाल टेलिभिजनमा विजयकुमारले आफनो कार्यक्रममा प्रस्तुत गरेका न्यूज एंकर । मृदुला हिम्मती नारी हुन । न्युयोर्कमा रेस्टुराँ व्यवसाय गरेर सफलता आर्जन गरेकी व्यक्तित्व, तर अमेरिकामा सिनेमा बनाउन सजिलो थिएन । अनुमति नलिई र स्थानको भाडा नबुझाइ सुटिङ गर्न नपाइने । सिनेमा बनाउन कलाकारहरूको समय नपाइने । सिनेमा बनेपछि दर्शक नपाइने । कति ठूलो विडम्बना । अहिले सरोज सम्झिन्छन् र हाँस्छन् । भन्छन्— यूएस हाम्रो तरिकाले सिनेमा बनाउने ठाउँ होइन । तैपनि, उनले हात हाले गगन विरहीले सुरु गरेको परदेशमा । उनकी नायिका थिइन्, कृष्टि । त्यसबाट छिटै हात झिके ।
सरोजको अमेरिका पलायन त्यस्तो समयमा भएको हो जब नेपाली नाटक, टेलि फिल्म र सिनेमाको व्यापारिक मोलतोलमा नै धेरै निर्णय हुन्थे । भारतमा यस्तो सिनेमा हिट भएको छ र हलिउडमा यस्तो हिट भएको छ भन्ने चर्चाबाट सिनेमा सुरु हुन्थ्यो । त्यसैमा सकिन्थ्यो । कला क्षेत्रमा काम गर्ने वातावरण थिएन । अहिले पनि त्यस्तै हो । तर, ठूलो स्केलमा काम गर्ने वातावरण बनाउन सकिन्छ ।
देश आएपछि सरोजले अभिनय गरेको नाटक थियो– बाह्र दुर्वासा । विश्वप्रसिद्ध अमेरिकी नाटक ‘ट्वेल्भ एंग्रीम्यान’ को नेपाली संस्करण । त्यसपछि उनले ‘नाइँ नभन्नु ल’ सिनेमाको पछिल्लो संस्करणमा स्मरणीय अभिनय गरे । पछिल्लो चलचित्र क्याप्टेनमा पनि उनले उम्दा अभिनय गरेका छन् । केही सिनेमा उनको हातमा छ । माला आर्ट्स एकेडेमी खोलेका छन् जहाँ अभिनयमा जम्न चाहने तन्नेरी पुस्ता सिक्नका लागि आउँछन् । सरोज खनाल जीवनसँग गुनासो गर्ने कलाकार होइनन् ।