यही वर्ष म धेरैजसो व्यस्त नै भएँ । यो वर्ष मेरा दुईवटा चलचित्र प्रदर्शनमा आए । त्यसले पनि मेरो व्यस्तता बढायो । चलचित्रको छायांकन अनि प्रदर्शनका लागि अस्ट्रेलिया, भियतनाम, दार्जीलिङ, टर्की आदि देश जाने मौका मिल्यो । विगतका वर्षमा मेरो एउटा मात्र चलचित्र प्रदर्शनमा आउँथ्यो त्यसैले अलि फुर्सदिलो हुन्थें, तर यसपालि व्यस्तता कारण व्यक्तिगत काममा समेत समय दिन भ्याइनँ ।
प्रदीप खड्का, अभिनेता
म २०७५ सालभरि सुटिङमै व्यस्त भएँ । गत वर्ष मेरा तीनवटा चलचित्र प्रदर्शनमा आएका थिए । यद्यपि यो वर्ष भने मैले अभिनय गरेको कुनै पनि चलचित्र प्रदर्शनमा आएन । त्यसैले पनि यो साल मेरा लागि सम्झनलायक बन्यो । यो वर्ष नेपाली चलचित्रको व्यापार पनि सन्तोषजनक रहेन भने देशमा पनि विभिन्न खालका घटना घटे, जसले दुःखी बनायो ।
पल शाह, अभिनेता
२०७५ साल कलाकारिताको हिसाबले एकदमै उत्कृष्ट रह्यो । व्यवसायिक हिसाबले मैले यही वर्ष इचिवान रेस्टुरेन्ट सुरु गरें । त्यसैले व्यावसायिक क्षेत्र पनि राम्रो भएको छ । अर्को कुरा मैले गत वर्ष जनस्तरबाट क्रिकेट रंगशाला निर्माण गर्नुपर्छ भनेर एउटा धारणा सामाजिक सञ्जालमा पोस्ट गरेको थिएँ । त्यो यो वर्ष घोषणा भएर सुरुसमेत भएको छ । त्यसैले यो वर्ष मेरा लागि सबै क्षेत्रमा सुखद् रह्यो ।
कुमार कट्टेल, हास्यकलाकार
मेरा लागि २०७५ साल विशेष रह्यो । साउन अन्तिमतिर सार्वजनिक भएको नाच फिरिरि गीत सर्वाधिक हिट भयो । त्यसैले म वर्षभरि नै व्यस्त भएँ । युट्युबमा यो वर्षकै सबैभन्दा बढी हेरिएको गीतका रूपमा नाच फिरिरी दर्ता हुन अर्को खुसीको कुरा हो । यही गीतका कारणले देश विदेशका विभिन्न कार्यक्रममा प्रस्तुति दिने अवसर पाएँ । त्यसबाहेक यो वर्ष अन्य थुप्रै महत्वपूर्ण काम सुरु भएका छन्, जसले २०७६ साल पनि उत्तिकै विशेष बनाउँछ भन्नेमा आशावादी छु ।
महेश काफ्ले, गायक
२०७५ साल मेरा लागि मिश्रित रह्यो, किनभने यो वर्षले मलाई केही कुरा दियो भने धेरै कुरा लुट्यो ।
सुशीला गौतम, गायिका
२०७५ साल मेरा लागि उपलब्धिमूलक रह्यो । यद्यपि देशका लागि भने यो वर्ष मिश्रित रह्यो ।
केदारप्रसाद घिमिरे, हास्यअभिनेता
यो वर्ष मेरा लागि निकै लाभदायक रह्यो । किनभने मैले विगतमा गर्न नसकेका काम यो वर्ष गरेको छु । मैले आफूले गरेको काममा पनि राम्रो सफलता पाएको छु । त्यसैले यो मेरा लागि सम्झनलायक वर्ष हो ।
सृष्टि खड्का, मोडल
अत्यन्तै सुखद वर्षका रूपमा सम्झन्छु । यही वर्ष मैले अस्ट्रेलियामा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरे । त्यसका साथै जापान, हङकङ, कतार, अस्ट्रेलिया आदि देशको सांगीतिक यात्रा गर्ने अवसर मिल्यो । यही वर्ष सामाजिक कामहरूमा पनि संलग्न भएँ । यो वर्ष मैले स्वदेशका मेला महोत्सवमा पनि बाक्लै उपस्थिती जनाएँ । त्यसैले आर्थिक हिसाबले पनि थप मजबुत भएकी छु भने चितवनमाडी नगरपालिकामा दुई कठ्ठा अनि बुटवल उपमहानगरपालिकामा आधा कठ्ठा घडेरी जोडेकी छु । समग्रमा २०७५ साल मेरा लागि निकै फलदायी रह्यो ।
राधिका हमाल, गायिका
राम्रो रह्यो । यही वर्ष मेरो नयाँ गीत टिकुली सार्वजनिक हुनुका साथै सफल पनि भयो । यही वर्ष मैले आफ्नै युट्युब च्यानल सुरु गरें ।
बाबु बोगटी, गायक
मेरो करियरका हिसाबले २०७५ साल सम्झनलायक वर्ष हो, तर बर्दिबास महोत्सवमा जाने क्रममा दुर्घटनामा परें । म उक्त घटना कहिल्यै बिर्सन सक्दिनँ ।
बिनु शाक्य, मोडल
यो वर्षलाई म आफ्नो सांगीतिक जीवनको महत्वपूर्ण वर्षका रूपमा सम्झन्छु । यो वर्ष सार्वजनिक भएका माया लुकी लुकी, जे पनि हुन सक्छ मायामा र किन कर्के गीतको माध्यमबाट अझ बढी दर्शक–श्रोताको मनमा बस्न सफल भएकी छु । मैले यही वर्ष विभिन्न पुरस्कारबाट सम्मानित हुने अवसरसमेत प्राप्त गरें ।
टीका प्रसाईं, गायिका
०७५ सालमा नेपालमा विकासका केही काम भए । यही सालदेखि नेपाली जनता अब नेपालमा केही हुन्छ भनेर खुसीको श्वास फेर्न थालेका छन् । गीत–संगीत पनि विगतको तुलनामा स्तरीय रुपमा अघि बढिरहेको छ । यस सँगै विभिन्न घटनाबाट दुःखी हुँदाहुँदै पनि अब केही गर्नुपर्छ भनी एकजुट भएर अघि बढेको सालका रूपमा सम्झन्छु म वर्ष २०७५ लाई ।
खुमन अधिकारी, गायक
यो वर्ष मेरा लागि मिश्रित रह्यो । यो वर्ष मैले सकारात्मक पक्षहरूलाई पछ्याउँदै नकारात्मक पक्षलाई यहीँ पूर्णविराम लगाएर आउने वर्ष थप ऊर्जाका साथ काम गर्ने सोच बनाएकी छु ।
पूजन घिमिरे, मोडल