साप्ताहिक संवाददाता
अहिले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०१९ चलिरहेको छ र यसमा पहिलो विवादका रूपमा अगाडि आएको छ, म्याच फिक्सिङको आरोप । त्यो पनि कुनै न कुनै रूपमा नेपाली स्पिनर सन्दीप लामिछानेसँग जोडिएर ।
दिल्ली क्यापिटल र कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा यो विवाद अगाडि आएको हो । त्यसमा सन्दीपको एक बलमा कोलकाताका रोबिन उथप्पाले चौका प्रहार गर्छन् । त्यसअघि दिल्लीका विकेटकिपर ऋषभ पन्तले भनेको सुनिन्छ, यो त त्यसै पनि चौका हो ।
यसलाई आधार मानेर पूर्व आईपीएल प्रमुख ललित मोदीले ट्विट गरिहाले र उनको आशंका थियो, यसमा खेल मिलोमतो भएको छ । खेल मिलोमतोमै फसेका मोदी अहिले इंग्ल्यान्डमा निर्वासित जीवन बिताइरहेका छन् र उनी भारत आउन सक्दैनन् ।
भारतीय क्रिकेट बोर्डसँग उनको सम्बन्ध निकै खराव छ । त्यसैले बोर्डले नै उनको यो फिक्सिङको दाबी खारेज गरेको छ । बोर्डका अनुसार यो प्रसंग पूरा घटना नबुझी युवा खेलाडीलाई फसाउन खोज्ने दुस्प्रयास मात्र हो ।