साप्ताहिक संवाददाता
नयाँ वर्षमा हेलिकप्टरमार्फत सगरमाथाको शिखर अवलोकन गर्ने हो । शिखर चुम्न नसके पनि नजिकबाट त हेर्नुपर्यो नि ।
गोपाल अर्याल
काठमाडौं जाने हो, नयाँ मेसिन आइर’छ अरे, त्यही बाटो बढारेको हेर्न ।
चन्दा गौतम
धरहरा र रानीपोखरी घुम्ने प्लान थियो नि, के गर्नु बनाएनन्, खाइदिए दुवै ।
गणेश गौतम
यसो बन्जी हान्न जाऊँ भनेर सोचिरा’, तर यति कल्कलाउँदो बैंसमा डोलीमा चढ्न नपाई के डोरीमा झुन्डिनु भन्ने कुराले पिरोलिरा’छ हजुर ।
पदमकुमार श्रेष्ठ
अब कसैले निमन्त्रणा गरेछन् भने जाउँला नि रारातिर डुबुल्की मार्न, कि त भोटेकोसीमा हाम फाल्न, अन्त त धुलै–धुलो छ कहाँ जानु र ?
हरी थापा
परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर खुसी र माया साटासाट गरि नयाँ वर्ष मनाउन पाउनु नै सबै भन्दा ठूलो कुरा हो ।
कुसु खड्का
नयाँ वर्षमा नेपालकै रारा, मुस्ताङ, बर्दिया र खप्तड राष्ट्रिय निकुञ्ज घुम्ने सोच थियो तर वैदेशिक रोजगारमा भएको मान्छे, यहाँ कता घुम्नु र खै ?
भावना घिमिरे
जिन्दगीमा नयाँ वर्ष रमाइलो गरी मनाउने दिन कहिल्यै जुरेन । अहिले पनि त्यस्तै छ । देश छोडेर विदेश आएको छु, नेपालमा नयाँ वर्ष हुँदा यता कामकै चटारो हुन्छ ।
ब्रहिम विष्ट
जिन्दगीले यत्तिकै घुमाइराखेको छ । यहाँभन्दा बढी के घुम्नु र खै ? सकिन्न होला योभन्दा बढी घुम्न ।
मनोजकुमार तामाङ
घुम्न जान त हुन्थ्यो । प्रहरीको फन्दा र ट्राफिक प्रहरीको ल्याङ–ल्याङ सुन्नुभन्दा, घरमै बसेर लोकल चिरिप्प पार्दै साथीभाइहरूसँग नयाँ वर्ष मनाउने विचार गरेको छु ।
रोहित गुरुङ
सुन्दरताले भरिपूर्ण मेरो जन्मभूमि र पुर्खाको भूमि घुमेर अनि नवीन सोच लिएर नयाँ वर्ष मनाउनेछु ।
वेदप्रकाश
धेरै टाढा कतै जाने विचार छैन, म त वृद्धाश्रम जाने अनि बा–आमाहरूसँग बसेर खुसी साट्ने ।
सेप्टेम्बर क्विन
बाइक भाडामा लिएर भएनी पूर्व मेचीदेखि महाकालीसम्म पुग्नुपर्ला । रेलको कुरा त अब के गर्नु र खै ?
पि लिम्बु
घले गाउँ, घान्द्रुक हुँदै काठमाडौं जाने हो ।
विकल थापा
मलाई त आफ्नै जिन्दगीले घुमाएको छ हजुर, कता जानु र घुम्न पनि ?
संयोग लिम्बू
गोजीमा गाँठ छैन त्यसैले घुम्ने आँट छैन । बेरोजगारीको समस्याले नयाँ वर्षमा पनि मार हान्ने भो ।
नवराज आचार्य
म यहाँ घुम्न जान्छु भन्ने कुरा छापियो, अनि त्यो ठाउँ घुम्न गइएन भने के हुन्छ ? —सोचमग्न भएको अवस्था ।
रोशन राना
म त चन्द्रमा जाने घुम्न, त्यो नि बूढाबूढी मिलेर ।
नविनराज मल्ल
घुम्न त मन छ नि के गर्नु सरकारले बिदा र तलब बढाको होइन ।
प्रकाश पाण्डे
बाग्मतीमा माछा मार्न जाने योजना छ ।
मिना
वर्ष नयाँ तर पुरानो ठाउँ रारा ताल जान मन छ ।
लविन्द्रजंग हमाल
पैसा खर्च नहुने ठाउँ हेर्नु छ ।
दिलीप मगर
मैले अबुधाबी घुम्ने योजना बनाएको छु ।
सुवास पण्डित
रिंगटा नलाग्ने ठाउँ घुम्ने हो ।
सुदीप तामाङ
बाहिर घुम्न गए खुट्टा टेक्ने ठाउँ हुँदैन, टन्न सोलमारी ल्याउने हो, दिनभरि खाँदै–पिउँदै बस्ने हो ।
कुमार बुढाथोकी
गर्लफ्रेन्ड लिएर प्राग जाऊँ कि भन्दैछु ।
सुलभ दाहाल
हुम्लाको सर्केघाट गाउँपालिकासम्म पुग्ने योजना छ । साथीहरूबाट प्राप्त जानकारीअनुसार त्यहाँ एक बोरा चामलका लागि ज्यान लिन र दिन पनि तयार हुन्छन् रे मानिसहरू ।
जीवन पौडेल
बेरोजगार भएर साहूको ऋण लिई खाडी छिरेको, सावाँ–ब्याज तिर्न नसकेर खाडीमै रुमल्लिन बाध्य छु के नयाँ वर्ष के चाड पर्व, मात्र विगतको स्मरण ।
एस
नयाँ वर्षमा एक दिन छुट्टि त्यो पनि बाहिर कहाँ जानु र ? घरमै बसी परिवारसँग रमाइलो गरिन्छ त्यो जति रमाइलो अरू के हुन्छ र ?
अनिल खरेल
नगरकोटतिर लागिन्छ अनि मीठा–मीठा परिकार खाइन्छ, समयमै घर आइन्छ र आमाले देख्दा छोरी कति असल, नयाँ वर्षमा नि किन घुम्न मन नगरेकी भन्छिन्, आफू समयमै घुमघाम सकेर घर आइन्छ ।
थापा
शे–फोक्सुन्डो ताल घुम्न जाने योजना बनाएको छु । त्यहाँ तस्बिर खिचाउने ठूलो रहर छ ।
गोठालो
हामी विदेशीलाई त १ महिना त घरमै ठिक्क हुन्छ, समय गएको पत्तै हुँदैन ।
कृष्ण भुषाल