साप्ताहिक संवाददाता
वरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसी नेपाली फुटबलको भविष्य सुमधुर हुँदै जानेमा आशावादी छन् । यो क्षेत्रमा आउन खोज्नेहरूको संख्या तथा उनीहरूको जोशले उनमा उक्त आशा जगाएको हो । पर्वतको तिलाहारमा जन्मिएका केसीले वि.सं. २०३० देखि २०५५ को आफ्नो जीवनको महत्वपूर्ण समय फुटबल खेलमा समर्पित गरे ।
गण्डकी, पश्चिमाञ्चल, फेन्डस, त्रिभुवन आर्मी, महेन्द्र पुलिस आदिबाट उनले करिएर अघि बढाए । २०५५ सालपछि भने फुटबल प्रशिक्षकका रूपमा उनको यात्रा मोडियो । पश्चिमाञ्चल क्षेत्र, महिला राष्ट्रिय फुटबल, पश्चिम क्षेत्रको महिला फुटबल, पोखराका क्लब, जिल्ला क्षेत्र तथा अञ्चल हुँदै अहिले उनले गण्डकी प्रदेशको कोचको जिम्मेवारी प्राप्त गरेका छन् ।
शम्भूले विशेषगरी नयाँ खेलाडी उत्पादनमा आफ्नो अनुभव खर्च गरिरहेका छन् । ‘नयाँ खेलाडी राम्रा छन्, सम्भावना छ । ‘स्कुलबाट स्किलफुल प्रतिभाहरू आइरहेका छन्’ केसीले भने । २० वर्षदेखि कोचका रूपमा काम गरिरहे पनि उनलाई खेलाडी हुँदाकै दिन रमाइलो लाग्छन् । केसी भन्छन्– मलाई खेलाडी हुँदा सजिलो तर कोच हुँदा गाह्रो लाग्यो ।