गायक राजेशफायल राईले सांगीतिक कार्यक्रमका त्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रायः सबै स्थानको भ्रमण गरिसकेका छन् । देशका प्रमुख सहर माक्र होइन मेला–महोत्सवका त्रममा उनले थुप्रै गाउँघरको भ्रमण समेत गरेका छन् । नयाँ वर्ष २०७६ को पूर्व सन्ध्या पारेर राजेशले आफ्नो रोजाइमा परेका दश स्थानका बारेमा जानकारी मात्र दिएका छैनन्, ती स्थानको भ्रमण गर्न आग्रह समेत गरेका छन् । गायक राईले यसै साता आफ्नो १९ औं एकल एल्बम ‘दर्शन नमस्ते–४’ सार्वजनिक गरेका छन् भने गत बुधवारमात्रै उनी सांगीतिक कार्यक्रममा सहभागिता जनाउन विदेश प्रस्थान गरेका छन् ।
भेडेटार, धरान
धरानभन्दा केही किलोमिटर माथि पर्ने भेडेटार म धेरै पटक पुगिसक्दा पनि अघाएको छैन । भेडेटारले मलाई मात्र होइन, हरेक पर्यटकलाई लोभ्याउँछ । जाडो होस् अथवा गर्मी, त्यहाँ हरेक क्षण चीसो अनुभव गर्न पाइन्छ । त्यहाँबाट देखिने दृश्यले जो–कसैलाई लोभ्याउँछ । जीवनमा एक पटक पुग्नै पर्ने स्थानमा भेडेटारलाई मैले पहिलो स्थानमा राखेको छु ।
दुवाचुङ डाँडा, हलेसी
खोटाङको हलेसीस्थित दुवाचुङ डाँडा विभिन्न दृष्टिकोणले घुम्नका लागि उपयुक्त स्थान बन्दै गएको छ । पहिले हामी त्यो स्थानलाई माला थुम्की भन्थ्यौं । डाँडाको माथि आकर्षक स्तम्भ तथा मुन्तिर हलेसी थान छ । त्यहीँ भगवान् गौतम बुद्धको आकर्षक गुम्बा पनि छ । हिन्दु, बौद्ध तथा किराँत धर्मको संगमस्थल भएकाले उक्त स्थान धार्मिक तथा सांस्कृतिक रूपले पनि महत्वपूर्ण भएको हो ।
पोखरा र आसपास
जति पटक पुगे पनि ताजा लाग्ने शहर भनेकै पोखरा हो । पोखराको फेवाताल, माछापुच्छ्रे हिमालको मनोरम दृश्य, बौद्ध स्तूप तथा सराङकोटले हरेक पटक उत्तिकै लोभ्याउँछन् । पोखराको हावापानी र स्वच्छता पनि उत्तिकै प्रिय छ ।
जनकपुरधाम
जनकपुर आफैंमा एउटा ऐतिहासिक स्थल हो । जनकपुर माता सीताको जन्मभूमिका रूपमा लोकप्रिय छ । जानकी मन्दिरको सौन्दर्य त्यहाँको सबैभन्दा रोचक पक्ष हो । यो मन्दिर निकै मनमोहक देखिन्छ । मन्दिरमा कुँदिएको कलाले पनि हरेकलाई लोभ्याउँछ ।
नाम्चेबजार
पैदलयात्राबाट पुग्न सकिने नाम्चेबजारको सौन्दर्य शब्दमा वर्णन गर्न गाह्रो छ । नाम्चे पुगेपछि सगरमाथालाई आफ्नै छातिमा अनुभव गर्न सकिन्छ ।
मुस्ताङ
सधैं चिसो हुने मुस्ताङ प्राकृतिक सौन्दर्यका लागि प्रख्यात छ । त्यहाँ पुगेपछि जो–कसैले आफूलाई स्वर्गमै पुगेको अनुभव गर्छन् । माथि मुक्तिनाथ अनि तल बग्ने काली गण्डकीले आफू अर्कै ग्रहमा पुगेको महसुस गराउँछ ।
घान्द्रुक
पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ— घान्द्रुक । पैदल यात्राबाट त्यहाँ पुग्दाको रोमाञ्चकता अद्वितीय हुन्छ । त्यहाँको बस्ती तथा सामाजिक परिवेश पनि उत्तिकै मनमोहक छ ।
ठमेल, काठमाडौं
काठमाडौंको मुटुमा अवस्थित ठमेलको आफ्नै महत्व छ । कुनै बेला म रात्री जीवनमा रमाउँथें । त्यतिबेला म हरेक रात ठमेलका सडक नाप्थे । काठमाडौंमा रात्रिजीवनको रमाइलो अनुभव गर्न चाहनेहरूका लागि ठमेल सर्वाधिक उपयुक्त स्थल हुन सक्छ ।
दोधारा चाँदनी
नेपालको सबैभन्दा पश्चिममा पर्ने कञ्चनपुरको दोधारा चाँदनी पनि एक पटक पुग्नै पर्ने क्षेत्र हो । त्यहाँबाट भारतलाई पनि छुन सकिन्छ । त्यहाँ निर्माण गरिएको पुलले त्यो क्षेत्रको सौन्दर्य बढाएको छ ।
पाथीभरा, ताप्लेजुङ
म अहिलेसम्म धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण पाथीभरा पुग्न सकेको छैन । यद्यपि, त्यहाँका तस्बिर तथा भिडियोहरू हेरेर मैले यसलाई एकपटक पुग्नै पर्ने ठाउँको सूचीमा राखेको छु ।