गीतकार भद्रकला आङबुहाङ राई र नेपाली संगितका वादशाह मानिएका राजेशपायल राईसँगको विवाद उत्कर्षमा पुगेको छ । गायक राईले केहि दिन अघि सार्वजनिक गरेको एल्बम दर्शन नमस्ते-४ मा भद्रकलाको शब्द रहेको एउटा गीत समावेश छ । समावेश सोल्टिनी बोलको गीतमा भिडियो समेत निर्माण गरिएको छ । गायक राईसँग हङकङलाई कर्मथलो बनाएकी गीतकार भद्रकलाले दुईमहिनाअघि हङकङमै भिडियो बनाउने सहमती गरेकी थिइन् । सोहि अनुसार भिडियो छायांकन गरिएको थियो । । यद्यपी, भिडियो सार्वजनिक गर्ने बेलामा तनाव उत्पन्न भएको छ ।
मलाई न्याय चाहियो : भद्रकला
राजेशपायलले काठमाडौमा भिडियो लञ्च गरेकै बेला हामीले हङकङमा तयार गरेको भिडियो पनि सार्वजनिक गर्ने भनिएको थियो । भिडियो सार्वजनिक भयो तर हामीले सुटिङ गरेको अधिकांश दृश्यहरु काटिएको छ । आफ्नो मात्र लिप्स सिङ राखेर उहाँले भिडियोको मर्मलाई मारेर आफ्नै च्यानलबाट सार्वजनिक गर्नुभएको छ, जुन कुरा मलाई पटक्कै चित्त बुझेको छैन । हामीले भिडियो, एल्बम सार्वजनिक गरेकै दिन विन्ध्यवासिनी मार्फत लञ्च गर्ने भनि मौखिक सहमति गरेका थियौं । तर, उहाँले आफु खुसी आफ्नो च्यानलमा भिडियो काटेर हाल्नुभयो । यो सरासर धोका हो । मेरो लगानीमा बनेको मेरो आफ्नो गीतमा उहाँले मनपरि गर्नुभयो । गीतकारको कुनै हैसियत नै राखिदिनु भएन । भिडियोलाई स्तरिय बनाउनका नेपालबाट नायिका मारिष्का पोखरेलाई तीन लाख रुपैयाँ पारिश्रमिक दिएर हङकङ ल्याएका थियौं । भिडियोमा ८ लाख लगानी गरेका छौ । राजेशसँग लामो सम्बन्ध र सहकार्यले हामीले कागजी हस्ताक्षर गरेनौं । अहिले भिडियो सार्वजनिक गर्दा मनपरी गर्नुभयो, मन दुखेको छ । मेरो श्रृजनामा उहाँको मनपरि हस्तक्षेप भयो । मलाई न्याय चाहियो ।
भिडियो एउटा, च्यानल दुईवटा !
गीतकार भद्रकला र गायक राजेश पायलको बिचमा असमझदारी बढेपछि दुबैजनाले आ–आफ्नो युट्युव च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका छन् । राजेशले केहि समयअघि भिडियो अपलोड गरेका कारण भद्रकलाले कभर नाममा भिडियो सार्वजनिक गरेकी छिन् । समाचार तयार पार्दा सम्म राजेश पायलको च्यानलबाट १ लाख ४६ हजार कटेको छ । भद्रकलाको च्यानलबाट ४ सय बढिले हेरेका छन् ।
के हो विवादको जरो ?
१३ जनवरी २०१९ का दिन गीतकार भद्रकला आङ्बुहाङद्धारा रचना गरिएको गीतहरुको प्रस्तुतीका लागि हङकङ स्थित याउमा तेई कम्युनिटी हलमा भद्रकला एकल साँझको आयोजना गरिएको थियो ।बिरामीहरु नितेश लिम्बु र सविता मिजारको सहयोगार्थ आयोजना गरिएको कार्यक्रमको आयोजकको रुपमा स्वयं भद्रकला मात्र थिईन् ।
कार्यक्रममा भद्रकलाद्धारा रचित गीतहरु प्रस्तुत गर्नका लागि गायक राजेशपायल राई, गायक तथा संगितकार बादल लिम्बु, गायिका प्रविशा अधिकारी, अभिनेत्री मरिस्का पोखरेल, मोडल तथा सञ्चारकर्मी सोनिका रोकायालाई हङकङ बोलाइएको थियो । कार्यक्रममा आमन्त्रित सम्पुर्ण कलाकारहरुले भद्रकलाद्धारा रचित गीतसंगित र नृत्यहरु प्रस्तुत गरे ।
जब स्टेजमा राजेशपायल राईको प्रवेश भयो उनले अन्य रचनाको गीतबाट आफ्नो प्रस्तुती सुरु गरे । राजेशको पहिलो प्रस्तुती चलिरहेका बेला भद्रकलाका श्रीमान् ओमप्रकाश राईले म्युजिक ट्रयाक बन्द गरिदिए । कार्यक्रमको शिर्षकअनुरुप भद्रकलाका गीतहरु प्रस्तुत नगरेको भन्दै ट्रयाक बन्द गरपछि राईले स्टेज छोडे । केहि समयपछि अर्कोपटक स्टेज उक्लिएका उनले स्टेजबाटै आफु नडराउने र आफ्नो ईच्छा अनुसारको गीत प्रस्तुत गर्ने अडान राखे । केहि समयपछि स्टेजमा माइक समातेर उनले सलमान खानको डाइलग एकबार कमिट्मेन्ट कर दिया तो खुद आप्की भि नहि सुन्ता भन्दै भद्रकलाकै गीतहरु प्रस्तुत गरेका थिए । स्टेजबाटै आयोजकप्रति लक्षित गर्दै राजेशले यस्तो प्रवृतिको आयोजक पहिलोपटक भेटेको भन्दै मानिसले आफ्नो साेंच अनुसारनै व्यवहार देखाउँछ भन्दै कटाक्ष गरेका थिए ।
कार्यक्रममा राजेशले देखाएको ब्यवहारप्रति आपत्ति जनाउँदै आयोजक र राजेशपायलबीच हङकङमै दुरी बढिसकेको थियो । कार्यक्रमपश्चात न आयोजकसँग राजेशले भेट गरे न आयोजकले नै राजेशलाई भेट गर्न चाह्यो । यस बिषयमा गायक राईसँग सम्पर्क गर्न खोज्दा सफल हुन सकिएन । उनले निरन्तर चलाउने फोन स्विच अफ छ, फेसवुक म्यासेन्जरमा रिप्लाई आएन ।
को हुन् भद्रकला ?
हङकङलाई कर्मथलो बनाएकी भद्रकला आङबुहाङ गीतकारको रुपमा मात्रै होइन, समाजसेवामा पनि सक्रिय छिन् । तिम्रो यादमा आज आँसु बगाउँछु गीतबाट गीतका शव्द लेख्न सुरु गरेकी उनले जब शुरेश अधिकारीको संगितमा अजम्बरी गिती संग्रह ल्याइन्, त्यसपछि चर्चामा आएकी हुन् । अहिलेसम्म उनले ३ सय गीत बजारमा ल्याइसकेकी छिन् । नेपालका अधिकांस गायक–गायिकाहरुले उनका गीतमा स्वर दिइसकेका छन् । उनले लेखेको गीतमा पछिल्लो समय राजेशपायलले स्वर दिएको मैले मायाले दिएको चिनो बोलको गीत निकै चर्चित बनिरहेको छ । भद्रकलाले आफ्नै अगुवाईमा सामाजिक संस्था चागे धर्ती आमा कोष दर्ता गरेकी छिन् । समाज कल्याण परिषदमा दर्ता उक्त कोष ताप्लेजुङ चाँगेमा सामाजिक उत्थान र सहयोगका लागि स्थापना गरिएपनि पछिल्लो समय मानविय हितका लागि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ ।