२०७६ सालको मेरो मुख्य योजना र लक्ष्य नै राम्रो चलचित्रमा अभिनय गर्ने र आफूलाई अभिनेताका रूपमा थप स्थापित गर्ने हो ।
विनोद न्यौपाने, अभिनेता
२०७५ सालजस्तै यो साल पनि गीत–संगीतलाई नै निरन्तरता दिनेछ । यो वर्ष बढीजसो सन्देशमूलक गीत गाउने योजनामा छु । कलाकार तथा आमनागरिकका रूपमा देशहितमा के गर्न सकिन्छ भन्ने विषयमा पनि सोच्नेछु र उपाय निकाल्ने प्रयास गर्नेछु ।
बद्री पंगेनी, गायक
मेरा लागि विगतका वर्षहरूको तुलनामा यो वर्ष अझ विशेष हुँदैछ । बितेका वर्षहरूमा पनि म कार्यक्रमको सिलसिलामा धेरैजसो देशबाहिर नै हुन्थें । यसपालि पनि एकसाथ थुप्रै देशको यात्रा गर्दैछु । नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै सांस्कृतिक कार्यक्रमका लागि म यतिबेला इजरायल आइपुगेको छु । इजरायल पछि युरोप जाँदैछु । म विगतका वर्षहरूको तुलनामा २०७६ साललाई केही फरक ढंगले बिताउने योजनामा छु ।
कृष्ण काफ्ले, गायक
गत वर्ष मेरो ए मान्छे गीतले अपार सफलता प्राप्त गर्यो । यस्तै नयाँ–नयाँ गीत दिएर २०७६ सालमा धुम मचाउने योजनामा छु ।
सचिन रौनियार, गायक
२०७६ सालमा असल मानिसहरूसँग काम गरेर करियर अघि बढाउने र आफ्नो सपना पूरा गर्ने योजनामा छु । त्यसका साथमा चलचित्र अभिनयमा पनि अघि बढ्ने लक्ष्य छ ।
मनिषा सापकोटा, मोडल
युट्युबसँगै टेलिभिजनमा हास्यव्यङ्ग्यात्मक कार्यक्रम प्रस्तुत गर्ने योजना छ । अघिल्लो वर्ष भएका गल्ती सुधार गरी नयाँ कामका लागि तयारी गर्नु, नयाँ–नयाँ ठाउँ घुम्नु तथा स्टेज कार्यक्रमको कन्टेन्ट बनाउनु नै २०७६ सालका लागि मेरा ठोस योजना हुन् ।
सुमन कार्की, हास्यकलाकार
नेपालको चिकित्सा क्षेत्रमा जतिपनि विकृति, विसंगति र बाहिरी हस्तक्षेप छ, त्यसलाई रोकेर नेपाललाई मेडिकल एजुकेसनको हब बनाउने मेरो योजना पुरानै हो जुन यसपालि पूरा होला कि भन्ने आशा गरेको छु । यसैपाली गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा गौतम बुद्ध इन्टरनेसनल हस्पिटल निर्माण गर्ने योजना छ ।
डा. भोला रिजाल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ
नयाँ वर्ष २०७६ मा विगतका वर्षहरूमा जस्तै उस्तै दुरुस्तै रहनेछु । सिधासँग सिधै रहनेछु, बाँङ्गोसँग बाङ्गै व्यवहार गर्नेछु । लोभ लालच, गुटबन्दी अनि गुलामीबाट टाढै रहनेछु । पैसाको पछाडि दौडिने छैन । आफ्नो काममै व्यस्त हुनेछु । दुई तीनवटा चलचित्रमा अभिनय गर्दैछु । यस्तै आफूलाई मन परेका दुई तीन जना साथीसँग पनि काम गर्दैछु । अरु त सबै यथावत् हो ।
निर्मल शर्मा, अभिनेता
२०७६ सालमा आफ्नो स्वास्थ्य र अध्ययनमा केन्द्रीत हुने योजना छ । त्यसबाहेक विगतका वर्षहरूमा गर्दै आएका नियमित कामलाई निरन्तरता दिनेछु ।
प्रकाश सपूत, गायक
२०७६ सालमा नयाँ कामको थालनी गर्दैछु । यसमै अझ राम्रो गर्ने योजना छ ।
पृथ्वीराज प्रसाईं, अभिनेता
२०७५ सालमा मैले जानी नजानी गरेका गल्तीहरू नदोहोर्याउने तथा नयाँ गल्ती नगर्ने योजना छ ।
प्रदीप भारद्वाज, लेखक
आफू भित्र रहेका सबै नकारात्मक सोचलाई निर्मूल गरी सकारात्मक सोचका साथ अघि बढ्ने योजना बनाएको छु ।
मनिष सुमन, नेता, राजपा
२०७५ मा भएका गल्ती दोहोर्याउँदिनँ । आफ्नो देश र क्लबका लागि धेरैभन्दा धेरै राम्रो खेल्ने प्रयास गर्नेछु ।
भरत खवास, खेलाडी
सिर्जनात्मक रुपमा आफूलाई अझ निखार्दै, तिखार्दै लाने, कलाका विविध आयामहरूमा प्रस्तुत हुने अनि अध्ययनलाई प्रशस्त समय दिने योजनामा छु । केही रमणीय ठाउँको भ्रमण गर्ने सोच पनि छ ।
प्रल्हाद सुवेदी, गीतकार
यो वर्ष आफूलाई चलचित्र क्षेत्रमा थप स्थापित गराउने योजनामा छु । त्यसैले धेरैजसो अभिनय एवं अध्ययनमै जोड दिनेछु ।
मुकुन भुसाल, अभिनेता
कलाकारिता र सिन्धुपाल्चोक कलाकार समाजलाई समय दिने योजनामा छु भने नाटकमा अभिनय गर्ने सोच पनि छ ।
बिनु शाक्य, मोडल
२०७६ सालमा मेरो गायन यात्रालाई मूर्त रूप दिनेछु, दर्शक–श्रोता अनि गायकहरूको अपेक्षा अनुसार गीत तयार गर्ने योजना छ ।
आशिष अविरल, संगीत संयोजक
ठोस भन्दा पनि पूरै तरल योजना छ । हाम्रो देशमा सम्भावना नै सम्भावना छ । जुटौं जागौं देश बनाऔं भन्ने संगीत तथा नाटक उत्पादनमा लाग्ने योजना छ ।
धिताल चिरिच्याट्ट, हास्यकलाकार