साप्ताहिक संवाददाता
सैफ अलि खान तथा अमृता सिंहकी छोरी सारा अलि खानले अघिल्लो वर्ष चलचित्र ‘केदारनाथ’ बाट बलिउडमा पदार्पण गरेकी हुन् । त्यसपछि साराको चलचित्र ‘सिम्बा’ प्रदर्शनमा आयो । दुवै चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरे । सारा अहिले चलचित्र ‘लभ आजकल’को सिक्वेलको सुटिङमा व्यस्त छिन् ।
यसबीच साराले अभिनयका अतिरिक्त राजनीतिप्रति पनि आफ्नो रुचि जाहेर गरेकी छिन् । हालै साराले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘भावी दिनमा म राजनीतिमा करिअर बनाउन चाहान्छु, आजभोलि भने अभिनय नै मेरो पहिलो प्राथमिकता हुनेछ । भविष्यमा भने म राजनीतिमा संलग्न हुन चाहान्छु ।’ साराले इतिहास र पोलिटिकल साइन्समा कोलम्बिया युनिभर्सिटीबाट डिग्री हासिल गरेकी छिन् ।
यस्तोमा राजनीतिप्रति उनको रुचि जायज नै हो । सारालाई विन्दास स्वभावका लागि पनि चिनिन्छ । सारा स्क्रिनमा धेरैको मन जित्न सफल छिन् । ‘लभ आजकल’मा उनी कार्तिक आर्यनको अपोजिट देखिनेछिन् । अर्को खबरअनुसार सारा बरुण धवनको अपोजिटमा चलचित्र कुल्ली नंं. १ मा पनि काम गर्दैछिन् ।