संगीतकार बिजु बज्रको आईतबार दिउँसो निधन भएको छ । आइचवार बिहान ६ बजे हृदयघात भएपछि नयाँ वानेश्वरस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेका संगीतकार बज्रको उपचारकै क्रममा निधन भएको हो । उनी लामो समयदेखि मुटु रोगबाट पिडित थिए ।
संगीतकार बज्रका निकटका गीतकार भूपेन्द्र खड्काका अनुसार बज्रलाई आज बिहानै ६ बजे घरमै हृदयघात भएको थियो । परिवारका सदस्यले उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा उनको निधन भएको हो ।
उनको पार्थिब शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि सोमबार प्रज्ञा भवनमा राखिने सम्भावना छ ।
४० दशकमा गुल्मीको वामीटक्सारबाट श्रीमती कोपिलासंगै गायनमा प्रवेश गरेका बिजु बज्र ५० र ६० को दशकमा अति लोकप्रिय बनेका संगीतकार हुन् । ५ वर्षअघि २ पटक हृदयघात भई पुनर्जीवन प्राप्त गरेका उनले आज यो धर्ती छाडेका हुन् ।
बज्रले संगीतबद्ध गरेका गीतहरु मध्ये स्व.फत्तेमान राजभण्डारीको झरी परिरह्यो, कर्णदासको बिस्तारै छायो, सुगम पोखरेलको तिमी मभन्दा कोसौं टाढा छौ, रेश्मा सुनुवारको मै ठूली भैछु रे, आगन्तुक खरेलको कुन रंगको कमि थियो र, प्रीति कौरको परेवाको जोडी, युवराज चौलागाईंको साँझ पख जब आदि लोकप्रिय मानिन्छन् ।
स्व.बज्रका श्रीमती, दुई छोरा तथा एक छोरी छन् ।