साप्ताहिक संवाददाता
सरु उपनामले चर्चित सरस्वती लामा रक गायिका हुन् । आफूले गाएका गीतको म्युजिक भिडियोलाई उनी आफैं कोरियोग्राफी तथा निर्देशनसमेत गर्छिन् । नृत्यमा पारंगत सरस्वती यतिबेला ‘द डार्क एन्ड लाइट’ चलचित्रमार्फत दर्शकमाझ आउने तयारी गरिरहेकी छिन् । छायांकनको अन्तिम चरणमा पुगेको उक्त चलचित्रमा उनले आफूलाई विभिन्न विधामा सक्रिय गराएकी छिन् ।
सरस्वती चलचित्रका चार निर्देशकमध्ये एक हुन् । चलचित्रको प्रमोसनल गीतमा उनले गायक डेविड शंकरलाई साथ दिएकी छिन् । यतिमात्र होइन, चलचित्रमा उनी अभिनेत्रीका रूपमा अभिनय समेत गरिरहेकी देखिन्छिन् । चलचित्रमा उनको भूमिका पनि बेजोड छ ।
साप्ताहिकसँगको भेटमा लामा भन्दै थिइन्–‘यसमा मैले ग्याङ्स्टरको लिडरको भूमिका निर्वाह गरेकी छु ।’ आफ्ना गीतका म्युजिक भिडियोमा अभिनय गर्दै आएकाले चलचित्रमा अभिनय गर्न खासै गाह्रो नभएको उनको तर्क छ । लामाका श्रीमान् पिटर खालिङले समेत अभिनय गरेको उक्त चलचित्र दसैंअघि नै दर्शकमाझ आउने बताइन्छ ।