साप्ताहिक संवाददाता
केही समयअघि एक जना साथीले रमाइलो जोक्स सुनाउँदा निकै हाँसेको थिएँ । जोक्स यस्तो
थियो : दुई जना राति जाँड खाएर बेहोस भएर नालीमा सुतेछन्, बिहान उज्यालो हुने बेला ब्युँझेछन् अनि एउटाले अर्कोलाई उठाउँदै ए उठ् न उठ् म घर जान्छु भनेछ अनि अर्कोले भनेछ— ढोका लगाएर जा चिसो–चिसो भो । यो जोक्स सुनेर म निकै हाँसेको छु ।
नवराज पन्त, गीतकार
क्याप्टेन चलचित्रको छायांकनका लागि काठमाडौंबाट झापा जाने क्रममा भुवन सर, दिवाकर दाइ अनि अनमोल र म प्लेनभिक्र थियौं । त्यही त्रममा एयर होस्टेजले जुस लिएर आउनुभयो । जुस लिँदै अनमोलले निकै सिरियस भएर एयर होस्टेजसँग दिदी, यहाँ भात पाइन्छ भनेर सोधेको थियो । त्यो कुराले प्लेनमा हामी निकै हाँसेका थियौं ।
उपासना सिंह ठकुरी, अभिनेत्री
केही समय पहिलेको कुरा हो । अफिस जान निकै हतार भैरहेको थियो । त्यही हतारले गर्दा खुट्टामा दुई थरी मोजा लगाएर अफिस पुगेछु । त्यो देखेपछि मूर्च्छा पर्ने गरी हाँसेको थिएँ ।
धीरज राई, गायक
हुन त म धेरै नै हाँस्छु, हाँस्दा यति धेरै हाँस्छु कि मेरो हाँसो सुनेर वरिपरि रहेका सबै मानिस सबै छक्क पर्छन् । स्कुल पढ्दाका मेरा पुराना साथीहरूसँग भेट भएको समयमा त्यस्तै खालका कुराकानी हुन्छन्, जसले गर्दा धेरै हाँसिन्छ ।
बाबु बोगटी, गायक तथा अभिनेता
त्यस्तो क्षण त धेरै छन् । सानो छँदा मेरो एक जना साथी साइकलबाट लडेको थियो । त्यति बेला मेरो हाँसो निकै समयसम्म रोकिएन ।
लक्ष्मी ठाकुर, हेयर स्टाइलिस
कुरा केही दिन पहिलेको हो । एक जना मन्त्री फुटबल प्रतियोगिता उद्घाटन गर्ने क्रममा बल हान्दा भुइँमा पछारिनुभएको थियो । त्यो देखेर म निकै हाँसेको थिएँ ।
थानेश्वर गौतम, गायक
म धेरै हाँसिरहने मानिस भएकाले पनि त्यस्तो क्षणको सम्झना भएन । म धेरैजसो कमेडी फिल्म, कमेडी शो अनि ट्रोलहरू पढेर हाँस्छु । केही दिनअघि कपिल शर्मा शोमा शाहिद र कंगना गेस्ट भएको एपिसोड हेर्दा हाँस्दा–हाँस्दा आँखाबाट आँसु नै आएको थियो ।
कविर खड्का, अभिनेता
शंकर बीसीसँग भेट भएपछि सधैं घत पर्ने गरी हाँसेको हुन्छु ।
बद्री पंगेनी, गायक
केही समयअघि बुबाआमाले आफ्नो विवाहको कुरा सुनाउनुभएको थियो । बुबाको कुरा सुन्दा म निकै हाँसेको थिएँ । अहिले पनि कहिलेकाहीँ त्यो कुरा सम्झना आउँछ अनि हाँस्छु ।
दुर्गेश थापा, मोडल
हाँस्न त धेरै कुरामा हाँसिन्छ । यद्यपि हाँस्नका लागि कोही कमजोर र निरीह पाक्र चाहिने रै’छ । त्यो कुराले चाहिँ दुःख लाग्छ ।
आशिष अविरल, संगीत संयोजक
एक जना विशिष्ट व्यत्तिले विशेष कार्यक्रममा अंग्रेजीमा गरेको सम्बोधन सुन्दा निकै घत मानेर हाँसेको थिएँ ।
मुकुन भुसाल, अभिनेता
कहिलेकाहीँ कसैलाई ढाँटेको कुराले पनि मज्जाले हाँसो उठ्छ । केही समयअघि मात्र मलगायत हामी तीन जना कलाकार साथी जापानी एम्बेसी गएका थियौं । उताबाट आयोजकले स्पोन्सर लेटर मात्र पठाएका थिए । एम्बेसी जानुभन्दा पनि सबै डकुमेन्ट तयार गरेर फर्म र फोटो भर्ने ठाउँमा गयौं । त्यताका मान्छेले पहिले भिसा लेटर निकाल्नु त्यसपछि मात्र जानू भनेका थिए । हामीचाहिँ भिसा लाग्छ भनेर उनीहरूको कुरा नसुनी ढुक्क भएर एम्बेसीमा छिर्यौं, तर भित्रबाट हामीलाई भिसा पेपर चाहिन्छ भनेर फर्काइदियो । पछि फर्कने बेलामा त्यो फर्म भर्ने मानिसले भिसा लाग्यो त भनेर सोध्यो अनि म मज्जाले लाग्यो भनेर बाहिर निस्किएँ । त्यसपछि निकै हाँसो ऊठेको थियो ।
राजेश बर्देवा, गायक
यस्तो धेरै छ । हामी साथीहरू साइक्लिङका लागि गएका थियौं । त्यही क्रममा मेरो साइकलको चेन खुस्कियो । एक जना सिनियर व्यत्तित्वले पूरै दिनभर मेरो साइकल डोर्याउनुभयो । त्यतिबेला उहाँ एकदमै रिसाउनुभएको थियो, तर त्यो पूरा दृश्यले हामीलाई एकदमै हाँसो उठाइरहेको थियो ।
लीना दुवाडी, सञ्चारकर्मी
आत्मीय साथी वसन्त थापाको विवाहका क्रममा बाग्लुङ जाँदा बाटोमा अभिनेता राजेश हमाल, दिलीप रायामाझी, भुवन केसी एवं निर्देशक तथा मोडल शंकर बीसी दाइसँग भेट भएको थियो । त्यतिबेला उहाँहरूको जोक्स सुनेर लगातार १० मिनेटसम्म हाँसेको कुरा सम्झना आइरहेको छ ।
याम क्षेत्री, गायक
एसएलसी सकिएपछि साथीहरू मिलेर पुतलीसडकको फुच्चे रेस्टुराँ गएका थियौं । त्यहाँ एउटा साथीले अर्को साथी बस्ने बेलामा कुर्सी तानिदियो र साथी लड्यो । त्यतिबेला हामी आँखाबाट आँसु नै आउने गरी हाँसेका थियौं ।
कृष्टिन पौडेल, अभिनेत्री
केही दिनअघि मात्र सार्वजनिक भएको स्वतन्त्र गीतको एडिटिङको सिलसिलामा मैतीदेवीमा विकास धमलालाई मैले यो गीत ट्रेन्डिङमा त आउँछ, तर ट्रेन्डिङमा ५१ नम्बरमा आउने होला भन्दा निकै लामो हाँसो हाँसिएको थियो ।
हेमन्त शर्मा, गायक
मलाई घत परेर हाँसेको क्षण धेरै छन्, तर सम्झिनैपर्दा चाहिँ एउटा छ, मेरी आन्टी चिरिच्याट्ट परेर पार्टीमा जान घरबाट निस्किँदै हुनुहुन्थ्यो । अलिकति हिँडेपछि लडेर नयाँ लुगामा फोहोर लाग्यो । त्यति बेला निकै हाँसो उठेको थियो । त्यतिबेला म सानै थिएँ । अहिलेचाहिँ सामाजिक सन्जालमा पाठकहरूले गर्ने टिप्पणी, विशेष गरी राजनीतिक लेखका टीका–टिप्पणी पढ्छु, त्यसले पनि निकै हँसाउँछ ।
सुप्रिया कटुवाल, मोडल
धेरै छ, हाम्रो नेपालको जुन राजनीतिमा छ त्यो देखेर जवर्जस्त घत पर्छ अनि हाँस्नैपर्यो नि ।
भोलाराज सापकोटा, कलाकार
सानैमा पौडी खेल्न जाँदा मेरो एक जना साथी खोलामा डुबेको थियो । त्यो साथी आफूजस्तो पौडी खेल्न जान्ने कोही पनि छैन भनेर धाक लडाउँथ्यो । ऊ खोलामा पौडी खेल्दा डुबेपछि मैले नै उतारेर बचाएको थिएँ । उसलाई खोलाको किनारमा ल्याएपछि भने खित्का छाडेर हाँसेको याद छ ।
टेकेन्द्र शाह, भिडियो एडिटर