साप्ताहिक संवाददाता
नेपाल स्नेही काखमा आश्रय लिएर बबसेका बिरामीका लागि हङ्कङ्मा बसेका केहि युवाले आर्थिक सहयोग गरेका छन् । मानसिक सन्तुलन गुमाएर सडकसम्म पुगेका व्यक्तिलाई ल्याएर उपचार तथा हेरचाह गर्दै आएको उक्त संस्थालाई हङकङमा बस्दै आएका सबिता मल्ल, बिबि गुरुङ, बानेम बुद्ध, भगवती ओखराबु र सगुन रानाले ८० हजार सहयोग हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम हङकङमै बस्दै आएका अशोक मल्लले ल्याएर हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरणका लागि गायक हेमन्त शर्मा पनि स्नेही काख नेपालमा पुगेका थिए ।
ललितपुरको एकान्त कुना स्थित कुसुन्तीमा रहेको संस्थामा मानसिक रोगी तथा उनीहरुबाट जन्मिएका शिशुहरुलाई आश्रय दिइएको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताईन् । २०६७ सालदेखि श्रीनेहा पोखरेलले आफ्नै लगानीमा सञ्चालन गरेको यो संस्थामा हाल ३० जना महिला, २० जना पुरुष मनोरोगी र उनीहरुबाट जन्मिएका ८ जना बच्चाहरु बस्दै आएका छन् । संस्थामा रहेका २ मनोरोगीलाई एचआईभी संक्रमण समेत रहेको पोखरेलले बताएकी छिन् । उनीहरुको खाने बस्ने व्यवस्था रे उपचार खर्च आफूलेनै गर्दै आएको उनी बताउँछिन् ।
एकजना पुरुषको उद्धार र उपचारपछि श्रीनेहाको मन सडकमा भेटिएका मानसिक सन्तुलन गुमाएका महिलातिर तानियो । एकजनालाई गरिएको त्यो उद्धारले चर्चा भएपछि बालुवाटारबाट फोन आयो ‘एक जना दिदी अर्धनग्न अवस्थामा बाटोमा हुनुहुन्छ । आउनुपर्यो ।’ लगत्तै बालुवाटार पुगेकी श्रीनेहाले उनको उद्धार त गरिन तर कहाँ राख्ने समस्या आइपर्यो । घरमा राख्नसक्ने अवस्था थिएन । साथीभाईको सहकार्यमा उद्धार गर्दा गर्दै ८, ९ जना पुगेपछि घरको आवश्यकताले नेपाल स्नेही काख नामक सस्था दर्ता गरेर संचालन गरेको उनी बताउँछिन् ।
बाटोमा महिला बलात्कार हुँदाहुँदै तथा बच्चा जन्माउँदै गरेको अवस्थामा उद्धारमा पुग्दाको नमिठो अनुभव समेत उनले श्रीनेहाले सुनाईन् । स्नेही काखले सडकमा भेटिएका महिला, पुरुष दुवैको उद्धार गर्छ तर आश्रममा भने बालिका र महिलालाई मात्र राखिएको छ । पुरुष मनोरोगीहरुलाई भने सेल्टरको अभावमा होस्टलमा राखेको उनको भनाई छ ।