साप्ताहिक संवाददाता
कर्मा छिरिङ शेर्पा परिवर्तनको नारासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा आएको पनि एक वर्ष पुगेको छ । एक वर्षमा उनले आफूले दाबी गरेजस्तै काम गरेका छन् त ? एन्फाकै नजिक रहेकाहरूको भनाइ सापटी लिने हो भने शेर्पाको नेतृत्वमा खासै काम हुन सकेको छैन, खालि ठूलठूला गफ मात्र भएका छन् ।
स्वयं शेर्पाकै भाषामा यो एक वर्ष निकै चुनौतीपूर्ण रह्यो । आफूले सोचे र भने जस्तो पनि गर्न सकिएन, तर कामै नभएको भने होइन । सबैभन्दा ठूलो कुरा उमेर समूहको फुटबलमा काम भएको छ, लगानी भएको छ । त्यसको नतिजा आउने केही दिनमा देखिएला । त्यस्तै नीतिगत तहमा पनि धेरै काम हुनेछन् ।
अबको एक वर्षमा सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिग फुटबल हुनेछ, त्यो पनि रेलिगेसनसहित । गत वर्ष पनि एन्फाले लिग गरेको थियो, तर रेलिगेसनबिना । त्यसैले पनि एन्फाको चर्को आलोचना भयो । नहोस् पनि किन ? फुटबलबाट ह्यान्डको नियम हटाएर खेले जस्तै थियो, रेलिगेसनबिनाको लिग । यो वर्ष भने एन्फा त्यस्तो नाम मात्रको लिग गर्ने पक्षमा छैन ।