साप्ताहिक संवाददाता
कुनै समय थियो, नेपाली फुटबलमा बाक्लो चर्चामा रहने खेलाडी थिए— जुमनु राई । पुलिसका लागि घरेलु फुटबलमा उनले तहल्का नै मच्चाउँथे । राष्ट्रिय टिममा पनि उनले राम्रै प्रदर्शन गरे । नेपालका लागि ५० क्याप जित्ने केही भाग्यमानी खेलाडीको सूचीमा उनी पनि छन् । राईको सबैभन्दा उल्लेखनीय पक्ष नेपाली राष्ट्रिय टिमका लागि गरेको ११ गोल नै हो ।
चोटबाट सताइएपछि केही समययता उनी हराएकै स्थितिमा रहे । राईले खेल्न छाडेको पनि केही वर्ष भैसकेको छ, तर उनले सन्यास लिएका हुन् अथवा फेरि पुनरागमनका लागि प्रयास गर्दैछन्, त्यो कसैलाई थाहा छैन । जुमनु गुमनाम चुपचापजस्तै रहे । नेपाली फुटबल वृत्तमा उनी कतै देखिएनन ।
तिनै जुमनुले एन्फा डेका अवसरमा स्पेसल एवार्ड प्राप्त गरेका छन् र यसले फेरि एकपटक उनलाई चर्चामा ल्याएको छ । यो एवार्ड पाउनुको अर्थ अब जुमनुले फेरि दोहराएर फुटबल खेल्दैनन भन्ने पनि हो कि ?