साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका कार्कीले फ्रान्समा सञ्चालन भैरहेको कान्स फिल्म फेस्टिभल–२०१९ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।
आईतबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै आफूले कान्स फिल्म फेस्टिभल–२०१९ को रेड कार्पेटमा वाक गर्दै नेपालको प्रतिनिधित्व गर्न पाउने क्षणले गौरवान्तिव बनाएको उल्लेख गरेकी छिन् ।
‘मेरो लागि यो लामो समयदेखिको सपना झैं थियो, प्रियंकाले लेखेकी छिन्—‘हरेक वर्ष म उक्त प्रतिष्ठित महोत्सवमा विश्वकै चर्चित व्यक्तित्वहरुले रेड कार्पेटमा वाक गरेको देखेर एक दिन मेरो पनि पालो आउने छ भनेर आफैंलाई शान्त्वना दिन्थें । अहिले मेरो सपना वास्तविकतामा परिवर्तन भएको छ ।’
प्रियंकाका अनुसार उक्त विश्व प्रसिद्ध महोत्सवमा उनले चार वटा इभेन्टहरुमा सहभागिता जनाउने छिन् । ती इभेन्टहरु भोलि सोमबार अर्थात मे २० देखि बिहिबार (मे २४) सम्म सञ्चालन हुनेछन् ।
आफ्नो स्टाटसमा प्रियंकाले नेपालको प्रतिनिधित्व गर्ने मौका प्रदान गरिदिएकोमा रिचार्ड निल्सन, एलियन लेसुयर, खेन रिन्पोचे फूर्वा दोर्जी लामा तथा तुन्जिङ भुटियाप्रति आभार व्यक्त गरेकी छिन् ।
प्रियंकाले नेपाली दर्शकहरुप्रति पनि प्रेम, सद्भाव तथा साथका लागि आभार व्यक्त गर्दै लेखेकी छिन्—‘नेपाललाई गौरवशाली गराउने सक्दो प्रयास गर्नेछु ।’