साप्ताहिक संवाददाता
अभिनेता संजोग कोइरालासँग वैवाहिक जीवनमा बाँधिएर हनिमुनसमेत मनाइसकेपछि अभिनेत्री वर्षा राउत काममा फर्किएकी छिन् । यतिबेला उनी चलचित्र जात्रैजात्राको प्रचार–प्रसारमा सक्रिय छिन् । उक्त चलचित्रमा निर्देशक प्रदीप भट्टराईले उनलाई गृहिणीको भूमिकाका प्रस्तुत गरेका छन् । यसअघि चलचित्र जात्रामा समेत निर्देशक भट्टराईले वर्षालाई अभिनेता बिपिन कार्कीकी श्रीमतीका रूपमा प्रस्तुत गरेका थिए भने जात्रैजात्रामा पनि वर्षालाई बिपिनकै श्रीमतीको भूमिकामा देख्न सकिन्छ । आफ्ना दुई चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री राउतका बारेमा निर्देशक भट्टराईको ब्याक बाइट :
राम्रा पक्ष
बालापन
विवाह नै गरिसके पनि वर्षामा भएको बालापन उनको सबैभन्दा सकारात्मक पक्ष हो । उनी आज पनि बच्चाजस्तै छिन् । उनको मनमा कुनै छलकपट छैन, निष्कलंक छिन् । एउटा कलाकारमा हुनु पर्ने सबै गुण छ उनमा ।
प्राकृतिक अभिनय
बच्चाजस्तै भएकाले नै होला, उनलाई जस्तो भूमिकामा पनि अभिनय गराउन सकिन्छ । उनले गर्ने प्राकृतिक अभिनयलाई दर्शकले समेत मन पराइसक्नुभएको छ ।
सहयोगी
उनी अत्यन्त सहयोगी स्वभावकी छिन् । सकेसम्म अरूलाई सहयोग गर्नुपर्छ भन्ने उनको मान्यता छ । उदाहरणका लागि हाम्रो चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा उनी आफ्नो युरोपको हनिमुनसमेत छोट्याएर स्वदेश फर्किइन् ।
लगनशील
उनमा कामप्रति अचम्मको लगाव छ । जति नै प्रेसरमा भए पनि उनी आफूलाई दिइएको जिम्मेवारी पूरा गरेरै छाड्ने स्वभावकी छिन् ।
सुन्दरता
फोटोजेनिक अनुहार उनको अर्को सशक्त पक्ष हो । उनी आफैंमा सुन्दर छिन्, इनोसेन्ट मुस्कानले उनलाई थप सुन्दर बनाएको छ ।
नकारात्मक पक्ष
सिरियलनेसको अभाव
उनलाई मैले आजका मितिसम्म कहिल्यै सिरियस भएको देखेको छैन । अभिनय गर्ने बेलाको त कुरै छाडौं, बिरामी हुँदासमेत उनी सिरियस हुन्नन् ।
फिगर
जिरो फिगरको जमानामा उनलाई डाइटिङ कुन चराको नाम हो, थाहा छैन । मेन्टेन गरेर स्लिम बन्नुपर्छ भन्छु । मानिसहरू नखाएर बेहोस हुन्छन्, उनी भने धेरै खाएर बेहोस होलिन् भन्ने पिर छ ।
खानपिन
खानपिनमा नियन्त्रण गर्न सके वर्षाको सौन्दर्य सुनमा सुगन्धझैं हुने थियो ।
फरक भूमिका
वर्षाले हालसम्म जे–जति चलचित्रमा अभिनय गरेकी छिन्, ती सबैमा उनी प्रायः उस्तै देखिन्छिन् । अब उनले फरक–फरक विधाका फरक–फरक भूमिका निर्वाह गर्ने बेला आइसकेको छ ।