साप्ताहिक संवाददाता
पुस्तक पढ्न रुचाउनेहरू न्युरोड, पोखरास्थित रिडर्स कर्नर पुग्छन् । सञ्चालनमा आएको डेढ वर्ष भए पनि कर्नरमा पुग्नेहरूको संख्या बढ्दैछ । यो कर्नरमा बजारमा आएका अधिकांश साहित्यिक कृति उपलब्ध हुन्छन् ।
बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कर्नरमा बसेर निर्धक्कका साथ अध्ययन गर्न सकिन्छ । यहाँ कफी, सामान्य खाजा, कुकिज, चिया, लस्सी वा चिसोको स्वाद लिँदै आफ्नो अध्ययनको भोक मेटाउन पाइन्छ । हरेक दिन खुला रहने रिडर्स कर्नरमा पाइने पुस्तक किनेरै लानुपर्छ भन्ने छैन ।
वर्षको ३ हजारमा कार्ड बनाई घर लगेर पनि पढ्न सकिन्छ । यहाँ उपलब्ध केही पुस्तक बिनाशुल्क यहीं बसेर अध्ययन गर्न पाइन्छ । रिडर्स कर्नरमा साहित्यिक तथा गैरसाहित्यिक कार्यक्रमसमेत हुन्छन् जसका लागि १ सय जनासम्म अट्ने आफ्नै हल छ ।
पोखराको गैरापाटनमा ८ वर्षअघि हिमालयन रिडर्स कर्नरमार्फत साहित्यिक पुस्तकको बिक्री प्रारम्भ गरेका विजय भण्डारीले आफ्नो सेवा विस्तार गर्दै यसलाई सञ्चालनमा ल्याएका हुन् । रहर र लहडमा व्यवसाय सुरु गरेका भण्डारीमा पनि पुस्तक पढ्ने मोह छ । नयाँ पुस्ताको अध्ययन मोहले उनलाई थप ऊर्जा दिन्छ ।