साप्ताहिक संवाददाता
आममानिसको स्वभाविक चाहना आफ्नो जोडीको उमेर आफ्नोभन्दा कमै होस् भन्ने हुन्छ, यो तथ्य हामीले देखे–भोगेकै छौं । यस्तै ट्रेन्ड चलचित्र (चाहे त्यो हलिउड होस् वा बलिउड) मा पनि छ । कुरा अक्षयकुमार र सलमान खानको हो । यी दुवै अभिनेता उमेरले ५० कटिसकेका छन्, तैपनि आफूभन्दा आधा उमेरका अभिनेक्रीहरूसँग स्त्रिन सेयर गर्ने उनीहरूको लालसा कसैबाट लुकेको छैन ।
अक्षयकुमारको अपकमिङ चलचित्र ‘लक्ष्मी बम्ब’ यतिबेला चर्चामा छ । चलचित्रमा अक्षयकुमारले समलिङ्गीको भूमिका निर्वाह गरेको बताइन्छ । यो चलचित्रका लागि अक्षयकुमारले आफ्नी जोडीका रूपमा २६ वर्षीया कियारा आडवाणीलाई चुनेका छन् । अर्को वर्ष प्रदर्शनमा आउने चलचित्र लक्ष्मी बम्बकी अभिनेत्री कियाराको भाग्य नै त्यस्तै रै’छ । उनको निकट भविष्यमा प्रदर्शन हुन लागेको चलचित्र ‘कविर सिंह’का अभिनेता साहिद कपुर पनि उनीभन्दा १० वर्ष जेठा छन् ।
उता ५३ वर्षका सलमान खानले आफ्नो आगामी चलचित्र ‘इन्शाल्लाह’का लागि २६ वर्षीया अभिनेत्री आलिया भट्टलाई रोजेका छन् । सन्जय लीला भन्सालीले निर्माण गरिरहेको यो चलचित्रमा सलमान खान व्यापारीको भूमिकामा छन् भने आलिया चलचित्र अभिनेत्रीको भूमिकामा रहनेछिन् । कुरा, फेरि पनि सलमानकै, दुई सातापछि सार्वजनिक हुन लागेको सलमान खानको बहुप्रतीक्षित चलचित्र ‘भारत’मा उनको अपोजिसनमा रहेकी नायिका दिशा पाटनी पनि भर्खरै २७ लागेकी छिन् ।
भारतमा सलमान खान दिशा पाटनीसँग रोमान्स गर्दैछन्, अहिले प्रदर्शन भैरहेको चलचित्र ‘दे दे प्यार दे’मा पनि ५० कटेका नायक अजय देवगनले २५ नकटेकी अभिनेत्री रकुलप्रित सिंहसँग जोडी बनाएर सफलता आर्जन गरिरहेका छन् । यी सब ै कुराले के देखाउँछ भने बलिउडमा अभिनेताको उमेर जति भए पनि अभिनेत्रीको उमेर भने कमै हुनुपर्छ भन्ने मान्यताले जरो गाडेको छ ।