सन् १९८७ को ८ अक्टोबरदेखि ८ नोभेम्बरसम्म सञ्चालित यो विश्वकप पहिलो पटक इंग्ल्यान्डबाहिर भारत र पाकिस्तानले संंयुक्त रुपमा आयोजना गरे । यो विश्वकप आयोजना गर्ने क्रममा भारतका विख्यात उद्योगपति स्व. धिरुभाइ अम्बानीले व्यक्तिगत रुचि देखाएका कारण यो विश्वकपको आयोजना भारतमा सम्भव भएको थियो । त्यसै कारण यो विश्वकपलाई अम्बानीको कम्पनी रिलायन्स गु्रप अफ इन्डस्ट्रिजको नाममा रिलायन्स विश्वकप भनिएको थियो ।
यो विश्वकपका खेलहरू पनि समँह चरणमा डबल राउन्डका आधारमा खेलाइएको थियो । यो विश्वकपमा इंग्ल्यान्डका ग्राहम गुचले सर्वाधिक ४ सय ७१ रन बनाएका थिए भने अस्ट्रेलियाका क्रेग म्याकडर्मोटले सबैभन्दा धेरै १८ विकेट लिएका थिए ।
यो विश्वकपबाट खेलको ओभर ६० बाट ५० मा घटाइएको थियो । यो विश्वकपमा पनि सबै खेल दिउँसै खेलाइनुका साथैसेतो पहिरन अनि रातो बलमै खेलहरू भएका थिए । यो विश्वकपका लागि त्यसबेलाका सात टेस्ट राष्ट्रहरू स्वतः छनौट भए भने जिम्बाबे आईसीसी १९८६ ट्रफी विजेताका रुपमा दोस्रो पटक छनौट हुन सफल भयो । १२ अक्टोबरका दिन विश्वकपको इतिहासमा पहिलो चोटी खेल वर्षाका कारण रोकिएपछि भोलिपटक पुनः खेलाइयो । आयोजक भारत र पाकिस्तान दुवै सेमी फाइनलभन्दा अघि बढ्न सकेनन् ।
सेमी फाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १८ रनले पराजित गरेको थियो । उक्त खेलमा अस्ट्रेलियाका ओपनरद्वय डेभिड बुन र ज्योफ मार्शको विस्फोटक ब्याटिङका कारण कुनै समय रन ३ सय नघाउला जस्तो देखिएपनि पाकिस्तानी कप्तान इमरान खानले ५ ओभरको बलिङमा केवल १७ रन दिई ३ विकेट चट्काएका कारण अस्ट्रेलिया ६ विकेटको क्षतिमा २ सय ६७ मा समेटिएको थियो । जवाफमा पाकिस्तान निराशाजनक प्रदर्शनपछि २ सय ४९ मा अल आउट भयो ।
अर्को सेमी फाइनलमा अस्ट्रेलियाले भारतलाई ३५ रनले हराई अघिल्लो विश्वकपको सेमी फाइनलमा भएको पराजयको बदला पनि लियो । इंग्ल्यान्डले दिएको २ सय ५४ रनको लक्ष्य पछ््याएको भारतको सुरुवात त्यति राम्रो नभए पनि एक समय भारत ५ विकेटको क्षतिमा २ सय ४ को स्थितिमा थियो अर्थात् बाँकी १० ओभरमा केवल ५० रन बनाए पुग्ने भएकाले खेल भारतको पक्षमा देखिएको थियो, तर थप १५ रनका लागि बाँकी ५ विकेट गुमाएका कारण भारत लगातार दोस्रो पटक फाइनल पुग्न सकेन ।
१ लाख ३० हजार दर्शक क्षमता भएको कोलकाताको इडेन गार्डेन्समा भएको फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्दै २ सय ५३ रन बनायो । जवाफमा इंग्ल्यान्डका ओपनर टिम रोबिन्सन पहिलो बलमै एलबीडब्ल्यँ भए पनि एक समय इंग्ल्यान्डले खेल आफ्नो पक्षमा पारिसकेको थियो, तर कप्तान माइक ग्याटिङको पतनसँगै खेल गुमाउँदै गयो । खेल जित्न अन्तिम ओभरमा १७ रन बनाउन आवश्यक थियो । त्यति बनाउन नसक्दा इंग्ल्यान्डले केवल ७ रनले फाइनल खेल गुमायो ।
विश्वकपको इतिहासमा फाइनल खेलमा भएको हारजितमा यो नै सर्वाधिक कम अन्तरको हारजित थियो । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका अस्ट्रेलियाका डेभिड बुन म्यान अफ द म्याच घोषित भए ।
यस विश्वकपमा भारतका चेतन शर्माले न्युजिल्यान्डविरुद्धको समूह चरणको अन्तिम खेलमा विश्वकपको पहिलो ह्याट्रिक गरेका थिए । त्यसैगरी भारतकै नवजोत सिद्धुले ९ छक्का हानेर एउटै प्रतियोगितामा सर्वाधिक छक्का बनाउने कीर्तिमान बनाए भने उनैले लगातार चार खेलमा अर्धशतक बनाउने कीर्तिमान पनि कायम गरे ।