भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको छैटौं विश्वकप पनि नियमित समयभन्दा ६ महिना चाँडो खेलिएको थियो । यो विश्वकपलाई विल्स नामक चुरोट कम्पनीले प्रायोजन गरेका कारण यसलाई विल्स विश्वकप पनि भनिन्छ ।
यो विश्वकप सन् १९९६ को १४ फेब्रुअरीदेखि १७ मार्चसम्म संचालन भएको थियो । भारतले आफ्नो कोटाको १७ खेल १७ फरक–फरक रंगशालामा खेलाएको थियो । यो विश्वकपमा १२ वटा देश सहभागी भएका थिए भने कुल ३७ खेल भएका थिए । जिम्बावेसहित ९ टेष्ट राष्ट्रका साथै सन् १९९४ को आईसीसी ट्रफीबाट युएई, केन्या र नेदरल्यान्डले एशोसिएट राष्ट्रका रुपमा सहभागिता जनाएका थिए । नेदरल्यान्ड सबै खेलमा पराजित भयो भने केन्याले वेस्टइन्डिजलाई पराजित गरेर ठूलो उलटफेर गरेको थियो । उता युएईले नेदरल्यान्डलाई मात्र हराउन सक्यो । यो प्रतियोगितामा भारतका सचिन तेन्दुलकरले सर्वाधिक ५ सय २३ रन बनाएका थिए भने भारतकै अनिल कुम्बलेले सर्वाधिक १५ विकेट लिएका थिए ।
समूह ए बाट ५ जितका साथ श्रीलंकाका साथै भारत, अस्ट्रेलिया र वेस्टइन्डिज तथा समूह बीबाट ५ जितका साथ दक्षिण अफ्रिकाका साथै पाकिस्तान, न्युजिल्यान्ड र इंग्ल्यान्डले क्वाटर फाइनलमा प्रवेश पाएका थिए । यो विश्वकप प्रारम्भ हुनुअघि जनवरी १९९६ मा श्रीलंकामा लगातार बम विस्फोट भएपछि अस्ट्रेलिया र वेस्टइन्डिजले श्रीलंका जान अस्वीकार गरेपछि श्रीलंकाले उनीहरूविरुद्धको खेलमा नखेलेर नै अंक प्राप्त गरेको थियो । त्यही अंकका आधारमा श्रीलंंकाले क्वाटर फाइनलमा प्रवेश पाएको थियो ।
यो विश्वकपदेखि नै क्रिकेटमा विस्फोटक ब्याटिङले प्रवेश पाएको हो । खेलको पहिलो १५ ओभरमै फिल्ड सीमिततालाई ध्यानमा राखी श्रीलंकाले सनथ जयसूर्या र कालुविथारनाको ओपनिङ जोडीको विस्फोटक ब्याटिङको फाइदा लियो । त्यसताका सुरुवाती १५ ओभरमा ५०, ६० रन बनाउँदा पनि त्यसलाई उत्कृष्ट मानिन्थ्यो, यस्तो अवस्थामा श्रीलंकाले प्रारम्भमै विस्फोटक ब्याटिङ गर्ने नीतिलाई उसका विरोधी टिमले प्रारम्भिक खेलहरूमा ठम्याउन सकेनन् । यसै विश्वकपमा श्रीलंकाले केन्या विरुद्ध ३ सय ९८ रन बनाएर एकदिवसीय क्रिकेटको नयाँ कीर्तिमान कायम ग¥यो, जुन अप्रिल २००६ सम्म कायम थियो । त्यसै विश्वकपमा दक्षिण अफ्रिकाका ग्यारी क्रिस्टेनले युएई विरुद्ध १ सय ८८ नट आउट रन बनाउँदै नयाँ कीतिमान कायम गरे । यो कीतिमानलाई सन् २०१५ को विश्वकपमा वेस्टइन्डिजका क्रिस गेलले २ सय १५ तथा त्यसको लगत्तै न्युजिल्यान्डका मार्टिन गुप्टिलले २ सय ३७ बनाई भंग गरेका थिए ।
पहिलो सेमिफाइनलमा श्रीलंकाले बनाएको २ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३५ औं ओभरमा ८ विकेट गुमाई केवल १२० रन मात्र बनाएको स्थितिमा करिब १ लाख १० हजार दर्शकले कोलकाताको इडेन गार्डेनमा हंगामा गर्दा खेल पटक पटक अवरुद्ध भयो । त्यसपछि म्याच रेफ्री क्लाइभ लोयडले श्रीलंकालाई विजयी घोषित गरे । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया ४ विकेट गुमाई केवल १५ रनको स्थितिबाट सम्हालिएर ८ विकेटको क्षतिमा २ सय ७ रन बनाउन सक्षम भयो । त्यसको विपरित वेस्टइन्डिजले ४२ ओभरसम्म २ विकेटको क्षतिमा १ सय ६५ रन बनाइसकेको अवस्थामा खेल सहजै जित्ने देखिएको थियो, तर थप ३७ रनका लागि वेस्टइन्डिजले ८ विकेट गुमाउन पुगेपछि पराजित हुनुपर्याे ।
यस अघिका सबै विश्वकप फाइनलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएपनि श्रीलंकाले टस जिती अस्ट्रेलियालाई पहिला ब्याटिङ गर्न लगायो । अस्ट्रेलियाले मार्क टेलरको ७४ रनको सहयोगले २ सय ४१ बनायो । जवाफमा फाइनल खेलका म्यान अफ द म्याच अरविन्द डी सिल्भाले १ सय ७ रन बनाउनुका साथै ४२ रन दिई ३ विकेट लिए । यसरी अस्ट्रेलियालाई सात विकेटले पराजित गरी आयोजक टोली विश्वकपको इतिहासमा पहिलोपटक विश्वविजेता बन्यो ।